साफ च्याम्पियनसिप : नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

राजधानीमा जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

८ असोज, काठमाडौँ । राजधानीमा जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज दिउँसो १:३० बजे हुनेछ ।

शुक्रबार भएको पहिलो खेलमा पाकिस्तानले नेपाललाई १–० गोलअन्तरले पराजित गरेको थियो । शनिबार भएको खेलमा पाकिस्तानले माल्दिभ्ससँग १–१ गोलको बराबरीमा खेल्दै सेमिफाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको थियो । समूह ‘ए’ मा रहेको पाकिस्तान दुई खेलमा चार अङ्क जोड्दै सेमिफाइनलमा पुगेको हो । खेलको ८४ औँ मिनेटमा पाकिस्तानका साह जहानले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल हुन सकेन र पाकिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्यो ।

समूह ए मा नेपालसहित पाकिस्तान र माल्दिभ्स छन् । पाकिस्तानले दुई खेलमा चार अङ्क जोडेको छ भने एक खेल खेलेको माल्दिभ्सको एक अङ्क छ । नेपाल अङ्कविहीन छ ।आजको विजेता टोली सेमिफाइलनमा पुग्नेछ ।

त्यस्तै समुह बी मा आज साँझ ५:३० बजे भारत र भुटान खेल्दै छन् । यो खेलबाट समुह विजेता छुट्टिनेछ ।

प्रतिक्रिया