कार्यपालिका विवादले बलेफी गाउँपालिकाको सबै काम तीन महिनादेखि ठप्प

 कार्यपालिकामा बहुमत र अल्पमत विवाद रहँदा बलेफी गाउँपालिकाको सम्पूर्ण काम आर्थिक वर्षको सुरुवातदेखि नै ठप्प भएको छ। 

असोज ८, सिन्धुपाल्चोक । कार्यपालिकामा बहुमत र अल्पमत विवाद रहँदा बलेफी गाउँपालिकाको सम्पूर्ण काम आर्थिक वर्षको सुरुवातदेखि नै ठप्प भएको छ। अध्यक्ष गंगाबहादुर तामाङ र उपाध्यक्ष सरु लामाबीच लामो समयदेखि दलगत विवाद रहँदै आएको छ। अध्यक्ष तामाङ माओवादीबाट र उपाध्यक्ष लामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। 

कार्यपालिकामा १६ सदस्य छन्। अध्यक्ष तामाङसहित माओवादीको एक र एमालेको एक वडाध्यक्ष गरी जम्मा तीनजना एकातिर छन्। अर्कोतिर आफूसहित १३ सदस्यको नेतृत्व उपाध्यक्ष लामाले गर्छिन्। गाउँपालिका अध्यक्षसँग बहुमत सदस्य नहुँदा तीन महिनादेखि सबै काम रोकिएको हो। आर्थिक वर्ष ०८०/८१ सुरु भएयता गाउँपालिकाको खातासमेत सञ्चालन हुन सकेको छैन। खाता नचल्दा दैनिक प्रशासन र कर्मचारीकाे तलब रोकिएको छ। करारमा रहेका कर्मचारीको म्याद थप भएको छैन। म्याद नथप्दा करारको भरमा रहेको पालिकाको धेरैजसो काम प्रभावित भएको छ। ‘खाता सञ्चालन गर्न भनेर चारपटक बैठक बसियो। तर, उहाँहरू (उपाध्यक्ष)को टिमले निर्णय नै हुन दिएन,’ पालिका अध्यक्ष गंगाबहादुर तामाङले भने। खाता खोल्न नपाएको र कर संकलन पनि रोकिएको उनले बताए। 

नयाँ आर्थिक वर्षदेखि आन्तरिक कर संकलन पनि रोकिएको छ। बहुमत र अल्पमत विवादमा गाउँपालिकाले दैनिक उठाउँदै आएको स्थानीय र आन्तरिक कर असुली बन्द रहेको छ । ०७९/८० मा सम्पन्न भएका कामको भुक्तानी सबै रोकिएको छ। उपभोक्ता समितिले लानुपर्ने चार करोड रकमको भुक्तानी रोकिएको हो। 

काम सकेर उपभोक्ता समिति र ठेकेदार पैसा लिन पालिका आइरहेका छन् । रकम सबै बैंकमा जम्मा भएर बसेको छ। तर, कार्यपालिका बैठकले निर्णय लिन नसक्दा सबै रोकिएका छन्। विवाद समाधानका लागि अध्यक्ष र उपाध्यक्षले पनि ‘वान टु वान’ वार्ता गरेका थिए। तर, समस्या समाधान हुन सकेको छैन। पार्टीगत रूपमा जनप्रतिनिधि विभाजित भएर दैनिक प्रशासनिक काम रोकिएपछि कर्मचारी निराश भएका छन्। (नयाँ पत्रिकाबाट)

प्रतिक्रिया