माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपाल ‘साफ यू १९ च्याम्पियनसिप’ फुटबलको सेमिफाइनलमा

माल्दिभ्सलाई फराकिलो अन्तरले हराउँदै घरेलु टोली नेपाल साफ यू १९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

८ असोज, काठमाडौं । माल्दिभ्सलाई फराकिलो अन्तरले हराउँदै घरेलु टोली नेपाल साफ यू १९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
दशरथ रंगशालामा आज भएको समूह ए को अन्तिम खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराएर नेपाल सेमिफाइनलमा पुगेको हो । समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन
सेमिफाइनलमा नेपालले भारत र भुटान मध्य एकको सामाना गर्ने छ । आजै हुने समूह बीको अन्तिम खेलमा भारत र भुटान प्रतिस्पर्धा गर्दै छन् । पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै ३ अंकमा समूह उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो। पाकिस्तानसँग बराबरी गरेको माल्दिभ्स आजको हारसँगै तालिकाको पुछारमा रहँदै समुह चरणबाटै बाहिरिएको छ।


नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्सन र निराजन धामीले समान एक गोल गरे। खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्यो। खेलको १७ औं मिनेटमा प्रशान्त लक्सनको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। २९ औं मिनेटमा निराजन धामीको थ्रु पासमा पासमा समिर तामाङको उत्कृष्ट गोलमा नेपालले अग्रता दोब्बर पार्यो। खेलको ३४ औं मिनेटमा नेपाल र मालदिभ्स १० खेलाडीमा सीमित भए। नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहम्मद यान हसनले सिधै रातो कार्ड खाँदै मैदान छाडे।

माल्दिभ्सका खेलाडीको लङ क्रस प्रहार अफ बलमा नेपालका सुजनले माल्दिभ्सका मोहम्मदलाई धकेलेका थिए। त्यही क्रममा दुवै खेलाडीबीच झगडा हुँदा रेफ्रिले सिधै रातो कार्ड देखाएका थिए। खेलको ८८ औं मिनेटमा प्रशान्त लक्सामको क्रसमा निराजन धामीले गोल गर्दै नेपाललाई ३–१ को अवस्थामा ल्याए। इन्ज्युरी समयमा समिरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे। दीपक थापामगरको क्रसमा समिरले हेडर गोल गरे ।

फोटो : प्रजिता पराजुली

प्रतिक्रिया