पेनाल्टीमा चुक्दा भारतसँग सेमिफाइनलमै हार्यो नेपाल

साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।

११ असोज, काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हिजो भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग नेपाल पेनाल्टीमा ३–२ गोलअन्तरले पराजित भएको हो । पेनाल्टीमा नेपालका प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न चुकेपछि नेपाल पराजित भएको हो । नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका थिए ।

त्यस्तै भारतका लागि अर्जुनसिंह ओइनाम, ग्वाग्व्मसर गोएरी र मङ्लेनथाम किपगेनले गोल गरे । दिनेश सिंह सौवम र रिक्की हओबमको प्रहार विफल भएको थियो ।

यसअघि खेलको निर्धारित समयसम्मको खेल १–१ गोलको बराबरी सकिएपछि खेल पेनाल्टीमा पुगेको हो । खेलमा पहिलो अग्रता भने भारतले लियो । खेलको २६औँ मिनेटमा भारतका खेलाडी गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट गोल गरे । त्यसपछि खेलको ७४ मिनेटमा नेपालका समीर तामाङले एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । उनले दीपक थापा मगरको असिस्टमा हेड गोल गरेका हुन् ।

यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरएको छ । जितसँगै भारतले फाइनल खेलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ । फाइनल खेल यही शनिबार हुनेछ ।

प्रतिक्रिया