बजार अनुगमनमा म्याद गुज्रिएका खाद्यान्न फेला

जिल्ला बजार अनुगमन समिति सिन्धुपाल्चोकले दुई वटा पालिकाको मुख्य व्यापारिक केन्द्रको अनुगमन गरेको छ ।

१२ असोज, सिन्धुपाल्चोक । जिल्ला बजार अनुगमन समिति सिन्धुपाल्चोकले दुई वटा पालिकाको मुख्य व्यापारिक केन्द्रको अनुगमन गरेको छ । अनुगमन समितिले बलेफी गाउँपालिकाको २ नम्वर वडा जलबिरे टारी बजार वडा नं. १ फेदीबजार, सिम्लेबजार र जुगल गाउँपालिका ५ को ढाँडेबजारमा अनुगमन गरेको हो । गाउँपालिका बजार अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएका खाद्यन्न सामग्रीहरु फेला पारेका छन् ।

पाेखराकाे एस एण्ड बि ट्रेडर्सले टाईचिन चिउरा लेखी भुजियाकाे बिक्री गरिएको पाएर अनुगमन समितिद्वारा जफत साथै नियम विपरित व्यवसाय गर्दै आएका ३ व्यवसायी जरिवानामा परेका छन् । सो क्रममा जरिवानामा पर्नेहरुमा १ औषधी पसल, १ किराना पसल र १ वटा हार्डवयर रहेका छन् । अनुगमनमा २४ वटा पसलहरु समेटिएका थिए ।

उक्त बजारमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएको खाद्यान्न भुजिया, पानीपुरी मसला, बदामजुस, दालमोठ, तरकारी मसला लगायतका सामग्रीहरु सवैले देख्नेगरि नष्ट गरिएको अनुगमन समितिका सदस्य घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख बिश्वनाथ काफ्लेले बताए ।

त्यस्तै अनुगमनमा खटीएका जिल्ला प्रशासन कार्यालयका नायव सुब्वा खोपनाथ नेपालले नेपालीहरुको बिशेष चाडपर्व दशै र तिहारमा बढी सामग्रीहरु खरिद हुने हुँदा अखाद्य र म्याद गुज्रिएका वस्तुहरु बिक्रि वितरण नहोस् भन्ने हेतुले अनुगमन गरिएको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको संयोजकत्वमा बुधबार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यालय जलविरे, जनप्रतिनिधिको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो । अनुगमनको क्रममा अनुगमन समितिका सदस्य घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विश्वनाथ काफ्लेले पसलमा देख्ने गरी मूल्य सूची राख्न, साईनबोर्ड राख्न, व्यवसायको दर्ता/नविकरण गर्न, मदिरा व्यवसाय दर्ता गरि ईजाजत लिन र व्यवसाय क्षेत्र वरपर सरसफाई गर्न निर्देशन गरिएको बताए । उनले जिल्लाका सबै बजार क्षेत्रमा अनुगमनलाई कडाईकासाथ लागु गर्दै जाने समेत जानकारी गराए । (सिन्धु ज्वालाबाट)

प्रतिक्रिया