एसियाडको पुरुष क्रिकेटतर्फ नेपाल क्वार्टरफाइनलमा

नेपाल एसियाली खेलकुद (एसियाड) को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

असोज १४, काठमाडौं । नेपाल एसियाली खेलकुद (एसियाड) को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले हराएर क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
नेपालको फराकिलो जितका लागि अविनास बोहराले ६ विकेट लिए । ३ दशमलब ४ ओभर खेलका उनले जम्मा ११ रन दिए । अबिनास टी २० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै खेलमा ६ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । नेपालले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर जम्मा ७४ रनमा अलआउट भयो ।
सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय १२ रन बनाएको थियो । नेपालका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । रोहितले २७ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ५२ रन बनाए भने कुशलले २० बलमा तीन चौका र तीन छक्कासहित अविजित ४७ रन जोडे ।
बलिङमा माल्दिभ्सका बदिउ इस्माइल नवाजले तीन विकेट लिए भने नासिर नेल इस्माली, मोहमेद मिउभान र थोलाल मोहमद रायले एक एक विकेट लिएका थिए ।
समूह ए बाट प्रतिस्पर्धा गरेको नेपालले यसअघि पहिलो खेलमा मङ्गोलियामाथि दुई सय ७३ रनको कीर्तिमानी जित दर्ता गरेको थियो । नेपालले क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशमध्ये एक टोलीको सामना गर्ने छ ।

प्रतिक्रिया