चौतारामा मनाइयो जेष्ठ नागरिक दिवस, सांसद सापकोटाद्वारा १ सय ४ बर्षिया तिलकुमारीलाई सम्मान

चौतारामा १ सय ४ बर्षिया तिलकुमारी पहरीलाई सम्मान गर्दै तेत्तीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ ।

१४ असोज, सिन्धुपाल्चोक । चौतारामा १ सय ४ बर्षिया तिलकुमारी पहरीलाई सम्मान गर्दै तेत्तीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ ।
चौतारास्थित वृद्धाश्रम सेवा समितिले आयोजना गरेको कार्यक्रममा जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले जेष्ठ नागरिक पहरीलाई दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा उनले जेष्ठ नागरिकबाट समाजले धेरै कुरा सिक्नु पर्नेमा जोड दिंदै बेसहारा व्यक्तिको संरक्षणमा वृद्धाश्रमले पुर्याएको योगदानको प्रशंसा गरे । समितिको आग्रह अनुसार भवन निर्माणका लागि पहल लिने बताउँदै सांसद सापकोटाले बृद्धाश्रमको संख्या बढाउने विषयलाई प्रोत्साहन गर्न नहुने धारणा राखेका थिए ।
हरेक बर्ष अक्टोबर १ का दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ । ‘सबै पुस्ताका लागि ज्येष्ठ नागरिकका लागि मानवअधिकारबारे विश्वव्यापी घोषणापत्रको वाचा पूरा गरौँ’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइँदैछ ।

प्रतिक्रिया