विदेशबाट फर्किएर गाउँमै बाख्रा पालन, मनग्य आम्दानी

उमेर तीन दशक नाघेका चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ कटुन्जेका सुरज पराजुली गाउँको बाख्रा फार्ममा भेटिन्छन् । चार बर्ष देखि उनले सञ्चालनमा ल्याएको फार्म उदाहरणीय बनेको छ ।

१५ असोज, सिन्धुपाल्चोक । उमेर तीन दशक नाघेका चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ कटुन्जेका सुरज पराजुली गाउँको बाख्रा फार्ममा भेटिन्छन् । चार बर्ष देखि उनले सञ्चालनमा ल्याएको फार्म उदाहरणीय बनेको छ । दुई वर्ष दुवई बसेर स्वदेश फर्केका उनले केही समय काठमाडौंमा अरुको काम गरेर गुजारा चलाए भनेजस्तो आम्दानी भएन । बाख्रा पालनको सोच पलाएपछि भने उनी गाउँ फर्के । २०७६ सालदेखि उनी कल्पना बोयर बाख्रा तथा कृषि फर्म चलाइरहेका छन् । अहिले उनका खोरमा चार दर्जन हाराहारी बोयर बाख्रा छन् । १४ वटा बाख्रा ब्याउने छन् । छिट्टै उनको खोरमा बाख्राको संख्या ५० नाघ्दै छ । खोरबाट खसी बोका बेच्ने र नयाँ जन्मिएर थपिने गति चलिरहन्छ ।

विदेशबाट फर्केर आएका युवाले गाउँमै बाख्रा पालन सुरु गरेपछि चौतारा साँगाचोकगढी नगरपालिकाले ५० हजार सहयोग गरेको थियो, त्यसपछि गतवर्ष नगरपालिकाले नै खोर बनाउनका लागी ३ लाख सहयोग गरेको छ । बोयर जातको बाख्रा ठिक लागेर सोही जातको मात्रै बाख्रा पालेको बताउने उनी बाख्रा मासुका र उत्पादनका लागि विक्रि हुने गरेको बताउँछन् । बाख्रा बढाउन सके बजारको लागि त्यस्तो गाह्रो अफ्ठेरो नभएको उनको अनुभव छ । सानो लगानीमा १८ वटा पाठा ल्याएर व्यवसाय सुरु गरेका उनले खर्च कटाएर बार्षिक चार लाख आम्दानी हुने गरेको सुनाए । स्थानीय भन्दा बोयर जातको बाख्राबाट राम्रो आम्दानी गर्न सकिने उनले बताए ।

आफू र परिवारका सदस्यले फार्म सम्हालेकोले आम्दानी एकल हुने उनले सुनाए । “अहिलेसम्म पारिश्रमिक लिने गरि कसैलाई पनि राखेको छैन, मैले घरमा बाख्रा संगसंगै गाई भैंसी पनि पालेको छु, खेतीपाती नि संगसंगै छ । हामी घरपरिवार मिलेर नै गरिरहेका छौँ । बाख्रा चैं व्यवसायिक गरुँ भनेर सुरुवात गरेको हो अरु चैं व्यवसायिक तवरले गरेको छैन”, उनले भने ।
उनले बाख्रालाई दिनभरी चराउने गरेको बताए । “यहाँ चरनक्षेत्र भनेरै त्यस्तो त छैन, गाउँबाट धेरै मान्छे बसाई सरेका छन् , उनीहरुको सबै जग्गा बाँझो छ अनि दाजुभाइको र आफ्नो गर्दा एक डेढ्सय रोपनी जति जग्गा बाँझो छ, त्यहीँ चराउने गरेको छौँ । चरन क्षेत्र चैं यस्तै नै हुन् । ” उनले भने । आफूले गरेको कामलाई नगरपालिकाले प्रोत्साहन गरेकोमा खुसी पराजुलीले सहयोग र हौसला पाइरहे फार्मलाई नै निरन्तरता दिने सोच रहेको सुनाए । “सरकारले सकभर आफ्नै देशमा उद्यमी बनाउनुपर्छ भन्ने मेरो धारणा हो । अब यहाँ बसेर कुनै पनि विकल्प भएन र केही सिप लागेन भने पछि विदेशीन पर्ने पनि होला”, उनले भने । आफ्नो कामबाट सन्तुष्ट पराजुलीले गाउँमा केही गरेर देखाउने अठोट सुनाए ।

प्रतिक्रिया