सिन्धुपाल्चोकमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान, जनताको गुनासो सुन्दै सेल कमिटिसम्म पुगे नेता, कार्यकर्ता

सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) राष्ट्रियरुपमा सुरु गरेको तीन महिने अभियानको एक महिना पुरा भएको छ । मनसुन कै विचमा भएको अभियानमा तोकिएको जिम्मेवारी लिएर नेताहरु गाउँ फर्किएका छन् ।

१७ असोज, सिन्धुपाल्चोक । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) राष्ट्रियरुपमा सुरु गरेको तीन महिने अभियानको एक महिना पुरा भएको छ । मनसुन कै विचमा भएको अभियानमा तोकिएको जिम्मेवारी लिएर नेताहरु गाउँ फर्किएका छन् । माओवादीको आधार क्षेत्र सिन्धुपाल्चोकमा पनि एक महिनामा नेताहरु सेल कमिटिसम्म जोडिएका छन् । स्थानीय तह र प्रदेश तथा संघको निर्वाचनमा जोडिएरका नेताहरु अभियानका क्रममा फेरि तल्लो कमिटिसम्म पुगेका हुन् ।

पहिलो महिना सबै पालिका तथा वडामा पुगेर सेल कमिटी, टोल कमिटी गठन गर्ने, पार्टी सदस्य बनाउने र नविकरण गराउने काम भैइरहेको जिल्ला समन्वय समिति संयोजक गोविन्द पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार प्रत्येक पालिका तथा वडा स्तरीय बैठकमा पार्टीका सदस्यहरुको गुनासो सुन्ने, पार्टीको उपलब्धिको चर्चा तथा अहिलेको सरकारले गरेका निर्णय तथा गरेका कामको समीक्षा, संगठन विस्तारका विषयमा छलफल भएका छन् । उनले पार्टीप्रति जनताले खुलेर गुनासो गरेको सुनाए । माओवादी पार्टीप्रति जनताको पहिले देखि नै ठूलो आशा भएको र आशा भएपछि गुनासो हुनु स्वाभाविका भएको पराजुलीको भनाई छ । पार्टीले लिएको नीति कार्यान्वयनमा आएका समस्याबारे जनताले सकारात्मक गुनासा सुनाएको उनले बताए । ‘विकास निर्माण, सामाजिक र आर्थिक परिवर्तन ल्याउने पार्टी माओवादी नै हो भन्ने आशा जनतामा छ’, उनले भने ।

अभियानका क्रममा जनयुद्धका सहिद, घाईते तथा बेपत्ता भएका परिवारसँग भेटघाट भएको पनि उनले जानकारी दिए । सहिद परिवारले पार्टी जस्तो हुनुपर्ने हो त्यो ट्र्याकमा गएन, हामीले आफ्नो परिवार गुमाएर दिएको योगदानको कदर भएन भनेर खबरदारी गरेको र सरकारले हामीलाई जसरी हेर्नुपर्ने हो त्यसरी हेरेन भन्ने जस्ता गुनासो रहेको उनले बताए । पालिका, वडा तथा गाउँमा इकाई कमिटी गठन गर्ने, भेला गर्ने, वृक्षरोपण, सरसफाइ, सम्मेलन लगायतका कामहरु अभियानकै क्रममा भैरहेकै छन् । जनतासँग प्रत्यक्ष भेटेर पार्टीबाट जनताको आशालाई बचाउने काम गर्दै जाने र अभियानको अन्तिम महिना मंसिरको १० गते पालिकास्तरीय ठुलो कार्यक्रम सहित अभियान सम्पन्न गर्ने सम्पूर्ण पालिकाहरुको तालिका रहेको संयोजक पराजुलीले बताए ।

सिन्धुपाल्चोकमा अभियान प्रभावकारी ढङ्गले अघि बढिरहेको र यसले राजनीतिक तथा सामाजिक रुपमा गुणात्मक उपलब्धि हाँसिल गर्छ भन्नेमा आफु विश्वस्त रहेको माओवादीले जनाएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा जनतासमक्ष पुगेर उनीहरुका दुखसुखमा सामेल हुने र यसलाई पूर्ण रुपमा सफल बनाउनेतिर सबै लागिरहेको पार्टीका नेताहरुको दावी छ । जिल्लामा माओवादीको तीन महिने अभियानका लागी पार्टीका केन्द्रिय नेताहरु शंकर लामा मेलम्चीमा, उमेश स्थापित इन्द्रावतीमा, गंगा पराजुली चौतारा साँगाचोकगढीमा, कुमार बोगटी सुनकोसीमा, राजकाजी महर्जन बलेफीमा खटिएका छन् । यस्तै लिसंखुपाखर गाउँपालिकामा नरबहादुर पाख्रीन, बाह्रबिसेमा नविन जिरेल र बागमती प्रदेश सहसचिव प्रकाश श्रेष्ठ जुगल गाउँपालिकामा खटेका छन् । पार्टी उपमहासचिव जनार्दन शर्मा, नेता कृष्ण प्रसाद सापकोटा, हिमाल शर्मा, माधव सापकोटा सुबोध, युवराज दुलाल सरद, नेतृ अमृता नेपाल, बागमती अध्यक्ष सरल सहयात्री, पनि अभियानका क्रममा जिल्लाका कार्यक्रमहरुमा पुग्ने गरेका छन् । जिल्लाका कतिपय नेताहरुको कार्यविभाजन अन्य जिल्लामा समेत परेको माओवादीले जनाएको छ ।

सिन्धुपाल्चोकमा रहेका १२ पालिका मध्ये बलेफी, चौतारासाँगाचोकगढी, जुगल र लिसंखुपाखर गाउँपालिकामा माओवादीले जितेको छ । जिल्लबाट बागमती प्रदेशमा प्रत्यक्षमा युवराज दुलाल र सरल सहयात्री गरी दुई जना र समानुपातिकमा अमृता नेपाल सदस्य निर्वाचित भएका छन् । केन्द्रीय सदस्य माधव सापकोटा सुबोध संघीय संसद, प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।

प्रतिक्रिया