विश्व सामाजिक मञ्चको १६ औं संस्करण नेपालमा हुने, ५० हजार बढी विदेशी सहभागी हुने आकलन

“अर्को विश्व सम्भव छ“ भन्ने नाराका साथ विश्वभर पूँजिवाद, विश्वव्यापीकरण र नवउदारवादी व्यवस्था विरुद्ध बहस छेडिरहेको विश्व सामाजिक मञ्चको १६ औं संस्करण नेपालमा हुने भएको छ ।

१७ असोज, काठमाडौं । “अर्को विश्व सम्भव छ“ भन्ने नाराका साथ विश्वभर पूँजिवाद, विश्वव्यापीकरण र नवउदारवादी व्यवस्था विरुद्ध बहस छेडिरहेको विश्व सामाजिक मञ्चको १६ औं संस्करण नेपालमा हुने भएको छ । आयोजकका तर्फबाट बुधबार काठमाडौंमा कार्यक्रम गरी यसबारे जानकारी गराइएको हो । जस अनुसार विश्व सामाजिक मञ्च २०२४ नेपाल, कार्यक्रम आगामी फागन ३ देखि ७ सम्म काठमाडौमा हुने छ । आयोजकले कार्यक्रममा विश्वभरबाट ५० हजार भन्दा बढी नागरिकको सहभागीता हुने आकलन गरिएको जानकारी दिएका छन् ।

आयोजकका अनुसार विश्व सामाजिक मञ्च २०२४ को उद्घाटन समारोह फेब्रुवरी १५ मा काठमाडौंको खुला मञ्चमा हुनेछ । विषयगत सम्मेलनहरू र समानान्तर सत्रहरू १६–१८ फेब्रुअरी २०२४ मा भृकुटिमण्डप क्षेत्रमा आयोजित हुनेछन् । हरेक दिन कार्यक्रम विषयगत प्लेनरीबाट सुरु हुनेछन्, त्यसपछि समानान्तर सत्रहरू र दिनको अन्त्यतिर सांस्कृतिक कार्यक्रमहरूका साथ समाप्त हुनेछन् । भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा प्रमुख सार्वजनिक कार्यक्रम र प्रदर्शनी आयोजना गरिनेछ । करिब ९००–१००० समानान्तर सत्रहरू सञ्चालन हुनेछन् ।

समानान्तर सत्रहरू प्रमुख कार्यक्रम स्थलको नजिक र पैदल दूरी भित्र रहेका रत्नराज्य क्याम्पस, नेपाल ल क्याम्पस, वाल्मीकि क्याम्पस र पद्म कन्या क्याम्पस लगायतका परिसरहरुमा आयोजना गरिने छ । कार्यक्रममा वितरण गरिएको विज्ञप्तीमा भनिएको छ ‘विश्व सामाजिक मञ्च सहजीकरण समितिको बैंककमा सम्पन्न बैठकले विश्व सामाजिक मञ्चको १६ औं संस्करण २०२४ को फेब्रुवरी १५ देखि १९ सम्म (३ देखि ७ फाल्गुण २०८०) मा नेपालको काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । मञ्च सम्बद्ध कार्यक्रमका रुपमा फेब्रुवरी १४ मा संसदीय मञ्च र १७ मा अन्तरमहादेशिय युवा सम्मेलन पनि आयोजना गरिने छ ।’

मञ्चले विकल्पविहिन सिद्धान्तका रुपमा चर्चा गरिने पूँजिवाद, विश्वव्यापीकरण र नवउदारवादी व्यवस्थाले अहिलेको विश्वलाई समस्याग्रस्त वनाएको दावी गर्दै समय नघर्कदै अहिलेको विश्व व्यवस्थालाई परिवर्तन गरी सामाजिक न्याय, समानता, सहअस्तित्व र मानव मर्यादा सहितको नयाँ विश्व व्यवस्था निर्माण गर्न संसारभर विभिन्न किसिमका पहलकदमीहरु भइरहेको जनाउँदै विश्व सामाजिक मञ्च यस्तै पहलकदमीहरुको महत्वपूर्ण परिणाम भएको बताएको छ । मञ्चले नवउदारवाद, भूमण्डलीकृत पूँजिवाद, जलवायु संकट, पितृृसत्ता, जाती तथा रंगभेद, नश्लभेद, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय विरुद्ध हुने हिंसा, विभेद, द्धेषका विरुद्धमा एकजुट भएर गरिने विश्वभरका आन्दोलन र नागरिक समाज संगठनको सामूहिक शक्तिलाई प्रतिनिधित्व गर्ने जनाइएको छ ।

दुई दशकअघि विश्वमा नवउदारवादी विश्वव्यापीकरणले पारेको विनाशकारी प्रभावको विकल्पका बारेमा गम्भीर वहस गर्ने शिलशिलामा सन् २००१ मा ब्राजिलको पोर्ते एलेगे्रमा पहिलोपटक विश्व सामाजिक मञ्च आयोजना गरिएको थियो । मञ्चले विभिन्न सामाजिक आन्दोलन, सामुदायिक अभियान, ट्रेड युनियन, किसान संगठन, युवा संगठन, प्राज्ञ, बुद्धिजीवी र अन्य सीमान्तकृत समुदायलाई एकजुट गराई सहकार्य गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

प्रतिक्रिया