संसदमा दिएको अभिव्यक्तिमा पुनर्विचार गर्न ओलीलाई माओवादी सांसद सापकोटाको आग्रह

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा 'सुबोध'ले विपक्षी दलका नेतालाई संसदमा दिएको अभिव्यक्ति पुनर्विचार गर्न आग्रह गरेका छन् ।

१८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा ‘सुबोध’ले विपक्षी दलका नेतालाई संसदमा दिएको अभिव्यक्ति पुनर्विचार गर्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले समाजमा भड्किरहेको अराजकता थप चर्काउने भएकाले पुनर्विचार गर्नुपर्ने उनले बताए । ‘पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा घण्टौ भाषण गर्नुभयो । उहाँ नेतृत्वको केन्द्रीय समितिमा म पनि कुनै समय सदस्य भएकाले मेरो उहाँका प्रति सम्मान छ । तर उहाँले बोलेका केही कुरा निकै गम्भिर छन्’, बिहीबार संसदमा सापकोटाले भने । उनले अघि भने, ‘उहाँले आफ्नो अभिव्यक्तिमा दुई वटा दृष्टिकोणले पुनर्विचार गर्न जरुरी छ ।पहिलो, सामाजिक सद्भाव भत्किँदै अराजकताको दिशामा गएकाले सम्हाल्नु पर्नेछ । दोस्रो, द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न नेपालबाट सिकौँ भनेर भनिरहेका छौँ । यसलाई पुष्टि गर्न पनि उहाँले आफ्नो अभिव्यक्तिमा पुनर्विचार गर्नुपर्छ ।’
उनले २०६३ साल मंसिर ५ गते नेकपा माओवादी र सरकारका बीचमा भएको विस्तृत शान्ति सम्झौतालाई सजिलै नबिर्सिन आग्रह समेत गरे । ‘प्रमुख प्रतिपक्ष भनेको ‘वेटिङ गभर्नमेन्ट’ हो । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को बैठकमा आउनु भएन भने त्यो बैठक नै अगाडि जान सक्दैन । त्यसरी हेर्दा हाम्रो संविधानले प्रमुख प्रतिपक्षलाई ‘पार्ट अफ दि स्टेट’का रूपमा लिइन्छ’, उनले भने, ‘यस्तो मूल नेताले विस्तृत शान्ति सम्झौता विपरित अभिव्यक्ति दिएर फेरि समाजमा हिँजो युद्धमा गएका सबै घाइतेहरूले गोलि बोकेको शरिर लिएर सडकमा आन्दोलन गर भनेर भन्न खोजेको हो ?’
उनले विस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ९ मा उल्लेख विषयलाई पनि पढेर सुनाएका थिए । ‘संविधान सभामार्फत नेपाली जनताको सार्वभौम सत्ताको सुनिश्चितता, अग्रगामी राजनीतिक संरचना र आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गर्न दुवै पक्षबीच राजनीतिक सहमतिका आधारमा भएको देशमा २०५२ सालदेखि चल्दै आएको सशस्त्र द्वन्द्वलाई अन्त्य गरी शान्तिपूर्ण सहकार्यको नयाँ अध्याय प्रारम्भ भएको घोषणा गर्दै नेपाल सरकार र नेकपा माओवादीबीच भएको युद्धबिरामलाई दीर्घकालीन शान्तिमा परिणत गर्ने प्रतिबद्धताका साथ नेपाल सरकार र नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता सम्पन्न गरिएको छ ।’ उनले धरानदेखि नेपालगन्जसम्मका घटनाले समाजलाई गलत दिशामा लगिराखेको भन्दै सबै दल एकै ठाउँमा बसेर पत्रकार सम्मेलनमार्फत एउटा सन्दैश दिनुपर्ने बताए । उनले प्रतिपक्षी दलका नेता ओलीका अभिव्यक्तिले फेरि अर्को द्वन्द्वको जस्तो चित्र आइरहेको बताए ।

‘नेपालगञ्ज कर्फ्यूले घेरिएको छ । भदौको पहिलो हप्ता धरान यस्तै चपेटामा थियो र सिराहामा त्यस्ते भयो । देशैभरी जाजिय र साम्प्रादायिक घटना बढिरहेका छन् । चिकित्सक सुरक्षित छैनन्, हातपात भइरहेको छ । प्राध्यापकमाथि त्यस्तै छ’, उनले भने, ‘यो सदनमाथि जनताको अपेक्षा छ । जनताको विषय उठाउला भनेर आशा गरेको देखिन्छ । तर हाम्रो संसदमा पूर्वप्रधानमन्त्री घण्टौ भाषण गर्नुहुन्छ । यस्ता सवालका बारेमा, अराजकता र यस्ता घटनाको नियन्त्रण गर्ने विषयमा कुरा आउँदैन ।’ उनले समाजलाई अनुशासित बनाउनका लागि सामाजिक सञ्जालमा व्यक्त भइरहेका उच्छृंखलतालाई नियन्त्रण गर्नुपर्ने र त्यसका लागि सबभन्दा पहिले राजनीति अनुशासित हुनुपर्ने बताए । त्यसमा पनि राजनीतिक दलका प्रमुख नेताहरू बढी अनुशासित र जिम्मेवार हुनुपर्ने बताए ।

अनलाइनखबरबाट

प्रतिक्रिया