सिन्धुका स्थानीय तह : ५ पालिका र १७ वडाको कार्यालय भवन बन्न बाँकी

जिल्लाका १२ मध्ये ५ पालिका र १०३ मध्ये १७ वटा वडाले अझै आफ्नो भवनबाट सेवा दिन नसकेको पाइएको छ ।

१९ असोज, सिन्धुपाल्चोक । जिल्लाका १२ मध्ये ५ पालिका र १०३ मध्ये १७ वटा वडाले अझै आफ्नो भवनबाट सेवा दिन नसकेको पाइएको छ । निर्वाचित जनप्रतिनिधिबाट स्थानीय तहको अभ्यास भएको साँढे छ बर्ष वितिसक्दा समेत आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह हुन नसकेको हो ।

मुलतःबजेट अभाव, जग्गा विवाद, ठेकेदारको ढीलासुस्ती र भवन निर्माणका लागि सहमती जुट्न नसक्दा स्थानीय सरकार भवन विहिन बन्न पुगेका हुन् । नेपालको संविधान २०७२ अनुसार देश संघीय संरचनामा गएपछि संबैधानिक अधिकार सहित स्थानीय सरकारका रुपमा कार्यरत पालिका र वडाका भवन नहुँदा नागरिकले अपेक्षाकृत सेवा पाउन सकेका छैनन्।

जिल्लाका हेलम्बु, बलेफी, सुनकोशी, त्रिपुरासुन्दरी र पाँच पोखरी गाउँपालिकाले पुरानै संरचना वा भाडाको भवनबाट सेवा दिइरहेका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने चीनसँग सिमाना जोडिएको भोटेकोशीको भने गाउँपालिकाको आफ्नै भवन सहित सबै वडाको आफ्नै भवन रहेको प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर बस्नेतले बताए ।

सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युग बहादुर खड्काका अनुसार गाउँपालिकाको आफ्नो भवन नभए पनि सम्पुर्ण वडाको भने आफ्नै भवन छ । चौतारासाँगाचोकगढी नगरपालिकाको १४ वडा मध्ये वडा नं १ को आफ्नो भवन बन्न बाँकी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीले जानकारी दिए ।

बलेफीको ८ वटा वडामध्ये ५ वटा वडाका आफ्नै भवन छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवन्त दाहालका अनुसार वडा नं २,३ र ७ को भने आफ्नो भवन बन्ने क्रममा छन् । बाह्रबिसेका प्रशासन अधिकृत ज्ञानेन्द्र महतका अनुसार नगरपालिकाको ९ र ५ नं वडाको आफ्नो भवन छैन । यस्तै मेलम्ची नगरपालिकाको वडा नं १२ को बाहेक सबै वडाको आफ्नै भवन रहेको सुचना अधिकारी झपेन्द्रराज खरेलले जानकारी दिए ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाकोे सबै वडाको आफ्नै भवन भएता पनि ५ वटाको भवन पक्की छन् भने ३ वटा वडाले अस्थायी भवनबाट सेवा दिईरहेको पालिका प्रवक्ता नारायण भट्टराईले बताए । त्रिपुरासुन्दरी गाउँपालिकाले कुल ६ वटा वडा मध्ये वडा नं २,४ र ६ को आफ्नै भवन बाट काम गरिरहेको र बाँकी वडा १,३ र ५ को भने आफ्नो भवन नरहेको जानकारी प्रमुख प्रशासकीय अधिकृत जय बहादुर वाईवाले दिए ।

यस्तै हेलम्बु गाउँपालिकाका अनुसार गाउँपालिकाको १,२,३ र ४ नं वडाको आफ्नो भवन नभएपनि वडा नं ५,६ र ७ को आफ्नै भवन छ । लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले बताए अनुसार लिसंखुको वडा नं १ को बाहेक सबैको आफ्नै भवन छन् । जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले जुगलको वडा नं ५ बाहेक सबैका आ आफना भवन भएको बताए । इन्द्रावती गाउँपालिकाको पनि वडा नं ३ को जग्गा विवादका कारण भवन बनाउन बाधा परेको र बाँकी सबै वडाको भवन रहेको सुचना अधिकारी सन्तोष सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया