प्रधानमन्त्रीद्वारा बझाङ भुकम्पका मृतक परिवारलाई दुई लाख दिने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बझाङमा भूकम्पबाट भएकाे क्षति अवलाेकनपश्चात मृतक परिवारलाई तत्काल २ लाख सहयाेग प्रदान गर्ने घोषणा गरेका छन् ।

१९ असोज, बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङमा भूकम्पबाट भएकाे क्षति अवलाेकनपश्चात मृतक परिवारलाई तत्काल २ लाख सहयाेग प्रदान गर्ने घोषणा गरेका छन् । शुक्रबार बझाङको सदरमुकाम चैनपुर पुगेर उनले भुकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका  हुन् ।

प्रधानमन्त्री प्रचण्डले भुकम्पले पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न रु.५०,००० (पचास हजार)उपलब्ध गराइने बताएका छन् । उनले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने जानकारी दिए । भुकम्प पिडितलाई राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन भएको बताउँदै उनले थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताएका छन् ।

त्यस्तै भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ । भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुतनिर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई यस अघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामाग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निमाणको काम अगाडि बढाइने प्रधानमन्त्रीले बताए । सरकारी कार्यालय, सामुदायिक भवन, स्कूल आदी क्षति पुगेका संरचनाहरूको गरी यथाशीघ्र पुनः निर्माण गरिनेछ र हालसालै गएका थुप्रै भुकम्पहरूलाई जाेखिमकाे पूर्व संकेतको रूपमा लिंदै ठूलो विपदको सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम ऑकलन न्यूनिकरण, पूर्व तयारी र पूर्व सूचना प्रणालीको काम अघि बढाइएको र यी कामहरूलाई बझाङ लगायत उच्च जोखिममा रहेका क्षेत्रमा समेत अघि बढाइने छ ।

प्रतिक्रिया