२० असोज, सिन्धुपाल्चोक । सदरमुकाम चौतारामा रहेको चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएकोे छ ।
शनिबार चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर कृष्णप्रसाद सापकोटाले साधारणसभाको उद्घाटन गर्दै सहकारीमार्फत समृद्ध नगरको परिकल्पना साकार गर्न सकिने धारणा राखे । समृद्ध नगर निर्माणार्थ सहकारीहरुले बचत र ऋणमा मात्र सीमित नभई उत्पादन र आय आर्जनमूलक कार्यका लागि पनि अगाडि बढ्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा सदस्य रामबहादुर घले, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, श्री कृष्ण रत्नगंगा माविका प्रधानाध्यापक डम्बरबहादुर श्रेष्ठ, महाकली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरे ।
संस्थाकी सचिव गीता श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष अप्सरा भूजेलबाट आर्थिक प्रतिवेदन पेश भएको कार्यक्रममा असल ऋणी भक्तमाया घले र जेष्ठ शेयर सदस्य मनलक्ष्मी श्रेष्ठलाई प्रमुख अतिथि सापकोटाले दोसल्ला ओढाई सम्मान गरे ।