एसियाली खेलकुद : करातेमा नेपाललाई ऐतिहासिक रजत पदक

चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालले ऐतिहासिक रजत पदक जितेको छ ।

२१ असोज, हाङझाउ । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालले ऐतिहासिक रजत पदक जितेको छ । १९ वर्षीय एरिका गुरुङले करातेबाट नेपालको पोल्टामा रजत पदक पारेकी हुन् ।

शनिबार हाङझाउमा भएको ६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरूलसेभासँग ३-० अंकले पराजित भएसंगै एरिका रजत पदकमै सिमित रहिन् ।

यसअघि उनको क्वार्टरफाइनलमा जापानकी युजुकीसँग १-१ अंकको बराबरी भएको थियो । त्यसपछि पहिलो अंक उनले लिएका कारण उनी सेमिफाइनल पुगिन् । सेमिफाइनलमा भने उनले हङकङकी यान काई होलाई ८-४ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् ।

एरिकाले नेपालका लागि जारी एसियाली खेलमा दोस्रो पदक जितेकी हुन । यसअघि नेपालले महिला कबड्डीमा कास्यपदक जितेको थियो ।
उनी व्यक्तिगत स्पर्धामा रजत जित्ने नेपालकी दोस्रो खेलाडी हुन् । यसअघि सन् १९९८ मा बैंककमा भएको १३औं एसियाली खेलकुदमा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलोपटक नेपाललाई रजतपदक दिलाएकी थिईन ।

प्रतिक्रिया