मेलम्चीले गर्यो बाढी, पहिरो प्रभावित हेलम्बुलाई सहयोग

मेलम्ची नगरपालिकाले हेलम्बु गाउँपालिकालाई नगद सहयोग गरेको छ ।

२१ असोज, मेलम्ची । मेलम्ची नगरपालिकाले हेलम्बु गाउँपालिकालाई नगद सहयोग गरेको छ । बाढी, पहिरो लगायतका विपद व्यवस्थापनको लागी छिमेकी पालिकालाई सहयोग स्वरुप मेलम्चीले रु १० लाख सहयोग गरेको हो ।

आइतबार मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङको कार्यकक्षमा आयोजित एक कार्यक्रमकाबिच तामाङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् । २०७८ असार १ र त्यसपछि आएका बाढी, पहिरोका कारण हेलम्बुमा भएको क्षतिलाई मनन गर्दै मेलम्चीले क्षति न्युनीकरण तथा पुनर्निर्माणका लागी सहयोग गरेको मेलम्ची नगरप्रमुखको सचिवालयले जनाएको छ।

गत भदौ १९ गते बसेको मेलम्ची नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी गाउँपालिकालाई १०/१० लाख सहयोग गर्ने निर्णय गरेको थियो । नगरपालिकाले पाँचपाेखरी थाङपाल गाउँपालिकालाई भने गत भदौ २७ गते रु १० लाखको चेक हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया