उत्कृष्ट प्रदर्शन गर्ने आईईएलटीएस रजिष्ट्रेशन एजेन्टलाई ब्रिटिश काउन्सिल नेपालको अवार्ड

ब्रिटिश काउन्सिल नेपालले उत्कृष्ट प्रदर्शन गर्ने आईईएलटीएस रजिष्ट्रेशन एजेन्टलाई ब्रिटिश काउन्सिल अवार्ड प्रदान गरेको छ ।

२१ असोज, काठमाडौं । ब्रिटिश काउन्सिल नेपालले उत्कृष्ट प्रदर्शन गर्ने आईईएलटीएस रजिष्ट्रेशन एजेन्टलाई ब्रिटिश काउन्सिल अवार्ड प्रदान गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले सेप्टेम्बर २९ मा सोल्टी होटलमा आईईएलटीएस पार्टनर समिट कार्यक्रम सम्पन्न गरेको बताएको छ ।

कार्यक्रममा युवा नेपाली विद्यार्थी र पेशाकर्मीहरूलाई अन्तरराष्ट्रिय शिक्षा र करियर विकासका अवसरहरू प्राप्तिमा सघाउने आफ्नो पहलको उत्सव मनाउन आयोजित उक्त कार्यक्रममा सबै खाले आईईएलटीएस पार्टनर्स (साझेदारहरू) भेला भएका थिए । विज्ञप्तिमा उत्सवले ब्रिटिश काउन्सिल र आईईएलटीएस साझेदारहरूबीचको सुदृढ सम्बन्धलाई झल्काएको र यसले नेपालीहरूलाई विविध क्षेत्रका अन्तरराष्ट्रिय दक्षतासँग जोडेर नेपालमा शिक्षाको अवसर अभिवृद्धि गर्ने ब्रिटिश काउन्सिलको सामूहिक प्रतिबद्धतालाई थप बलियो बनाएको बताइएको छ ।

कार्यक्रमले सन् २०२२ को अप्रिलदेखि सन् २०२३ को मार्चको बीचमा आईईएलटीएस भोल्यूम वितरणको मामिलामा उत्कृष्ट प्रतिबद्धता र टेवा प्रदर्शन गरेका सम्बन्धित साझेदार र सरोकारवालाहरूको पनि कदर गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपालका लागि बेलायती राजदूत रोब फेनले भने, ‘व्यवसाय, वित्तका लागि अंग्रेजी सिकाइको उत्कृष्ट माध्यम बनेको छ, यसलाई विकास भाषा भनिएको छ । मलाई आशा छ अंग्रेजी सिकाइ र विदेशमा उच्च शिक्षा पाउने कोशिश गरेर स्वदेश फर्किएका नेपालीहरूले देश बनाउनेछन् ।’ ‘नेपालमा हाम्रो उद्देश्य प्राप्तिमा योगदान दिएका हाम्रा सबै आईईएलटीएस पार्टनरहरूप्रति कृतज्ञता व्यक्त गर्न यो अवसर पाउनु हाम्रो लागि नितान्त खुसी र गर्वको कुरा हो । युवा नेपालीहरूले आफ्नो जीवनकै कायापलट गर्न सक्ने अन्तरराष्ट्रिय शैक्षिक अवसरहरूमा सहजै पहुँच बनाउन सकून् भन्ने सुनिश्चित गर्न हामी स्थानीय शिक्षाविद् र परामर्शदाताहरूसँग मिलेर निरन्तर रकाम गर्न प्रतिबद्ध छौं,’ ब्रिटिश काउन्सिल नेपालका कन्ट्री एक्जाम निर्देशक म्याक्सिम राइम्यानले भने ।

विज्ञप्तिका अनुसार कार्यक्रममा विविध श्रेणीमा ४८ ओटा पुरस्कार वितरण गरिएको थियो । यसमा शीर्ष १० आईईएलटीएस रजिष्ट्रेशन पार्टनर्स, समग्रमा उच्च प्रदर्शन गर्ने पार्टनर र विराटनगर, बिर्तामोड, बुटवल, चितवन र पोखरामा उत्कृष्ट प्रदर्शन गर्ने पार्टनर आदि पुरस्कारहरू थिए । उत्कृष्ट प्रदर्शन गर्ने एशोसिएशन एजुकेशनल कन्सल्टेन्सी एशोसिएशन अफ नेपाल (ईक्यान) रह्यो भने उत्कृष्ट प्रदर्शन गर्ने संस्था अर्बिट मेडिकल इन्ट्रान्स प्रा.लि. थियो ।

प्रतिक्रिया