हमास आक्रमणमा परि १० नेपाली विद्यार्थीको मृत्यु पुष्टि

हमास आक्रमणमा परि इजरायलमा सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ । एक जना अझै सम्पर्कविहीन छन् भने चार जना अस्पतालमा उपचारत छन् ।

२२ असोज, काठमाडौं । हमास आक्रमणमा परि इजरायलमा सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ । एक जना अझै सम्पर्कविहीन छन् भने चार जना अस्पतालमा उपचारत छन् ।
नेपालका तीन विश्वविद्यालयबाट इजरायल सरकारको सहयोगमा ‘लर्न एन्ड अर्न’ कायक्रममा गएका विद्यार्थी मध्ये १० जनाको मृत्यु भएको हो । अध्ययनका लागि २६५ जना इजरायलमा गएका थिए । ती मध्ये कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना थिए ।
सुदूरपश्चिम विश्वविद्यालयका उक्त समूहमा अध्ययनरत १७ जनामध्ये १२ जना सम्पर्कविहीन, तीन जना उपचाररत र दुई जना सकुशल रहेको जानकारी प्राप्त भएको रजिस्ट्रार प्रा. यज्ञराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विश्वविद्यालयकी रजिस्ट्रार प्राध्यापक डा. शारदा थपलियाले भने उक्त विश्वविद्यालयका सबै सकुशल रहेको र स्थानान्तरणको प्रयास भइरहेको जानकारी दिए । शनिबार बिहान इजरायलमाथि प्यालेस्टिनी इस्लामिक समूह हमासले आक्रमण गर्दा उक्त घटना भएको हो ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले १० जनाको मृत्यु भएको र एक जना सम्पर्कविहीन भएको बताएकी छन् । अरू चार जना अस्पतालमा उपचारत भए पनि खतरामुक्त भएको उनले बताइन । राजदूत रिजालका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययन गर्न गएका ४९ जना विद्यार्थीमध्ये १७ जना इजरायलको किबुज अलुमिन भन्ने स्थानमा मृत्यु भएको हो ।
इजरायलबाट प्राप्त जानकारी अनुसार मृत्यु हुनेमा कैलालीका घोडाघोडी नगरपालिकाका नारायणप्रसाद न्यौपाने, बझाङ जयपृथ्वी नगरपालिकाका गणेशकुमार नेपाली, कैलाली बौनियाका आशिष चौधरी, दार्चुला लेकामका दिपेशराज विष्ट, धनुषा सपहीका आनन्द साह, सुनसरी मधुवनका राजेशकुमार स्वर्णकार, डोटी पचनालीका राजन फुलारा, डोटी लामिखालका पदम थापा, सल्यान सारदा नगरपालिकका प्रवेश भण्डारी, दार्चुला मालिकार्जुनका लोकेन्द्रसिंह धामी छन् । कञ्चनपुर भीमदत्त नगरपालिकाका विपिन जोशी सम्पर्कविहीन भएको राजदूत रिजालले बताइन् । सल्यान नगरपालिकाका विधान सेजुवाल, दाङ दङ्गीशरणका प्रवीण डाँगी, कैलाली टीकापुरका मनबहादुर चौधरी र गोरखा नगरपालिकाका हिमाञ्चल कट्टेलको उपचार भइरहेको छ । मृतकहरुको शव शव छिटो नेपाल फर्काउन प्रयास भइरहेको राजदूत रिजालले जानकारी दिएकी छन् ।
यसैविच प्रतिनिधि सभाको आइतबारको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका भएको आक्रमणमा परी १२ जना नेपाली हराइरहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया