दसैंको लागि असोज २९ देखि नयाँ नोट साट्न पाईने

असोज २९ गतेबाट दसैंको लागि नयाँ नोट साट्न पाइने भएको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै उक्त दिनदेखि नयाँ नोट साटिने उल्लेख गरेको छ ।

२२ असोज, काठमाडौं । असोज २९ गतेबाट दसैंको लागि नयाँ नोट साट्न पाइने भएको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै उक्त दिनदेखि नयाँ नोट साटिने उल्लेख गरेको छ । दसैंको लागि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रूपैयाँ सटही सुविधा दिने भएको छ । सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक एक बण्डल नयाँ नोट पाउने भएका हुन् ।

दसैंको लागि मात्रै राष्ट्र बैंकले करिब १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ । विगतका दसैंहरूमा सात आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो । यसपटक क्युआर कोडमार्फत रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिने मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले जानकारी दिए । हाललाई यो सुविधा राष्ट्र बैंकको बालुवाटार कार्यालयमा मात्रै प्राप्त हुनेछ ।

आर्थिक वर्ष २०७८ र ७९ मा राष्ट्र बैंकले ४ अर्ब ४५ करोड रूपैयाँ बराबरका पुराना नोट जलानको लागि पठाएको थियो । पछिल्लो समय राष्ट्र बैंकले पुराना नोटबाट खाना बनाउन प्रयोग हुने ब्रिकेट समेत बनाएर बिक्री गर्ने गरेको छ ।

नेपाली मुद्राको प्रचलन बढाउन राष्ट्र बैंकले २०१५ सालबाट दसैंमै नयाँ नोट निष्कासन र वितरण गर्न थालेको हो । दसैंमा अर्थतन्त्र सहरबाट गाउँतिर सर्ने भएकोले नयाँ नोट निष्कासन र वितरणको चलन सुरू गरिएको थियो ।

राष्ट्र बैंकको गत साउनसम्मको तथ्यांकअनुसार बजारमा ५ खर्ब १४ अर्ब रूपैयाँ बराबरका पैसा चलनचल्तीमा छ । दसैंमा चलनचल्तिमा रहने रकम केही बढ्ने गरेको छ । दसैं लगायतका चाडपर्वमा लगभग ६ खर्बभन्दा बढी रकम चलनचल्तीमा रहने गरेको छ । सर्वसाधारणको हातहातमा पुग्ने यस्तो रकम लगभग १५ र २० दिनमा बैंकिङ प्रणालीमा फर्कन्छ भने ५ खर्ब बराबरको रकम चलनचल्तीमै रहिरहन्छ ।

प्रतिक्रिया