इजरायलमा ज्यान गुमाएका परिवारलाई जनहि १० लाख दिने सरकारको निर्णय, मंगलबार राष्ट्रिय शोक

सरकारले इजरायलमा ज्यान गुमाएका विद्यार्थीहरुको परिवारलाई जनहि १० लाख दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्ले जीवन गुमाएका नेपालीप्रति सम्मान व्यक्त गर्न असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

२२ असोज, काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विद्यार्थीहरुको परिवारलाई जनहि १० लाख दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्ले जीवन गुमाएका नेपालीप्रति सम्मान व्यक्त गर्न असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
यस्तै परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने र इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ।
यस्तै बैठकले इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने र स्वदेश फर्कन चाहने इजरायलमा रहेका नेपालीहरुलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गरेको छ ।
यस्तै सरकारले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने साथै इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ (तीन) महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय गरेको छ । इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने र नेपाल फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय मन्त्रिपरिषदले गरेको छ । यस्तै इजरायलमा रहेका नेपालीहरुको उद्दारका लागी इजरायल सरकार तथा अन्य छिमेकी मित्र राष्ट्रहरुसंग सहयोग लिने निर्णय भएको छ ।
सरकारले यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न अनुरोध पनि गरेको छ।

प्रतिक्रिया