इजरेलमा अहिले के भएको हो ?

हमासले इजरेलको विनाशको शपथ लिएको छ र सन् २००७ मा गाजाको सत्ता हातमा लिए यता उसले कैयौँ पटक इजरेलसँग लडाइँ गरिसकेको छ ।

२४ असोज, काठमाडौं । इजरेल र हमासबीच भएको लडाँइमा १० जना नेपालीले ज्यान गुमाएपछि सम्पूर्ण नेपालीको ध्यान यसतर्फ मोडिएको छ । यस सम्बन्धमा धेरैका जिज्ञासाहरु बिबिसीबाट साभार गरिएको छ ।

इजरेलमा अहिले के भएको हो ? प्यालेस्टिनी लडाकु समूह हमासले इजेरलमाथि अभूतपूर्व हमला गरेको छ । उक्त समूहका लडाकुहरूले गाजा स्ट्रिपनजिकै इजरेली बस्तीहरूमा प्रवेश गरी सयौँ मानिसलाई मारिदिए भने थुप्रैलाई बन्धक बनाएर लगे । मृतकमध्ये १० नेपालीसहित विदेशी नागरिकहरू पनि छन् ।

हमास के हो? हमास एउटा प्यालेस्टिनी इस्लामवादी लडाकु समूह हो । गाजा स्ट्रिपमा अहिले त्यस समूहको सत्ता छ । हमासले इजरेलको विनाशको शपथ लिएको छ र सन् २००७ मा गाजाको सत्ता हातमा लिए यता उसले कैयौँ पटक इजरेलसँग लडाइँ गरिसकेको छ । ती लडाइँका क्रममा उसले इजरेलमाथि रकेटहरू प्रहार गरेको छ अथवा अरू समूहलाई पनि प्रहार गर्न लगाएको छ । इजरेलले पनि लगातारजसो हमासविरुद्ध हवाई हमलाहरू गर्दै आएको छ र इजिप्टसँग मिलेर सन् २००७ यता गाजा स्ट्रिपमाथि नाकाबन्दी गरेको छ । आफ्नो सुरक्षाका निम्ति त्यसो गरेको इजरेलको दाबी छ । इजरेल, संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र यूकेका साथै विभिन्न मुलुक समग्रमा हमासलाई अथवा केही अवस्थामा उसको सैन्य सङ्गठनलाई आतङ्कवादी समूह ठान्छन् । हमासलाई इरानले सघाउँदै आएको छ । उसले सो समूहलाई आर्थिक सहायता उपलब्ध गराउनुका साथै अस्त्र तथा प्रशिक्षण दिँदै आएको छ ।

इजरेल र हमासबीच किन लडाइँ भएको हो ? हमास र इजरेलबीच निरन्तर तनाव रहिआएको छ । तर हमासले शनिवार बिना कुनै चेतावनी इजरेलभित्र आक्रमण गर्यो । हमासले इजरेलमाथि हजारौँ रकेट प्रहार गर्यो भने उसका लडाकुहरूले सीमामा लगाइएको तारबार हटाए अनि इजरेली समुदायमाथि अतिक्रमण गरे, सयौँलाई मारिदिए र कैयौँलाई बन्धक बनाएर लगे । गाजामा लडाकुहरूको अखडालाई लक्ष्य बनाएर इजरेलले तत्कालै हवाई हमलाहरू शुरू गर्यो । हमासले गाजाबाट सुरु गरेको यो सबैभन्दा महत्त्वाकाङ्क्षी कारबाही हो र इजरेलले एक पुस्ताको भन्दा बढी समयभित्र झेलेको यो सबैभन्दा गम्भीर सीमापार हमला हो । लडाँकुहरूले गाजा र इजरेललाई छुट्ट्याउने तारबारहरू धेरै ठाउँमा काटिदिए । मध्यपूर्वमा ठूलो युद्ध निम्त्याउने गरी इजिप्ट र सिरियाले सन् १९७३ मा अचानक आक्रमण गरेको ५० वर्ष पुगेको एक दिनपछि यो अभूतपूर्व आक्रमण भएको हो। हमासको नेतृत्वका लागि अहिलेसम्म त्यसको सान्दर्भिकता सकिएको छैन ।

प्यालेस्टाइन के हो र यी घटनासँग उसको के सरोकार छ ? वेस्ट ब्याङ्क र गाजा प्यालेस्टिनी भूभागको रूपमा चिनिन्छ । साथै ईस्ट जेरुसलेम र इजरेल बनेको सबै भूभाग रोमनकालदेखि प्यालेस्टाइनको रूपमा चिनिन्छ । बाइबलमा उल्लेख गरिएअनुसार ती भूभाग यहुदी अधिराज्यहरू हुन् । जसलाई यहुदीहरूले आफ्नो प्राचीन मातृभूमिका रूपमा हेर्छन् । सन् १९४८ मा इजरेल एउटा राज्यको रूपमा घोषणा भयो । यद्यपि इजरेललाई देशको रूपमा मान्यता नदिएकाहरूले अझै त्यो भूमिलाई प्यालेस्टाइन नै भन्ने गरेका छन् । प्यालेस्टिनीहरूले वेस्ट ब्याङ्क, गाजा र ईस्ट जेरुसलेमलाई समग्रतामा बुझाउन प्यालेस्टाइन नाम प्रयोग गर्छन् ।

अब के होला ? हमासका कमान्डर मोहम्मद डेफले प्यालेस्टिनी र अरू अरबहरूलाई “इजरेली कब्जा अन्त्य गर्न” का लागि आफ्नो कारबाहीमा सहभागी हुन आह्वान गरेका छन् । तर हाम्रा जेरुसलेम संवाददाता योल्यान्ड नेलका अनुसार वेस्ट ब्याङ्क र ईस्ट जेरुसलेममा रहेका वा अन्यत्र रहेका प्यालेस्टिनीहरूले हमास कमान्डरको यो आह्वानलाई सुन्छन् वा सुन्दैनन् भन्ने सबैभन्दा ठूलो प्रश्न रहेको छ । नि : सन्देह इजरेलले एउटा सम्भावित युद्ध देखेको छ जुन विभिन्न मोर्चाबाट सुरु हुन सक्छ । लेबनानको शक्तिशाली लडाकु समूह हिज्बुल्लाह त्यसमा संलग्न भयो भने नराम्रो अवस्था आउन सक्छ । इजरेली सेनाले सङ्गठनभित्र व्यापक सुदृढीकरणको निर्देशन दिएको छ । साथै गाजामा हवाई आक्रमण तीव्र पारेको इजरेलले स्थल कारबाही गर्ने योजना बनाइरहेको छ । (बिबिसीबाट)

प्रतिक्रिया