लाओसविरुद्ध खेल्ने नेपालको अन्तिम टोली घोषणा

फिफा विश्वकप २०२६ अन्तर्गत एसिया क्षेत्र छनोटमा बिहिबार लाओसविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

२४ असोज, काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया क्षेत्र छनोटमा बिहिबार लाओसविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । आज टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले विश्वकप छनोट खेल्ने अन्तिम टोलीको घोषणा गरेका हुन् ।

मुख्य प्रशिक्षक एनेसेले २५ सदस्यीय टोलीमध्ये गोलरक्षक अनिष डेउजा र डिफेन्डर छिरिङ लामाको अन्तिम टोलीमा स्थान मेटाउँदै २३ सदस्यीय खेलाडी छनोट गरेका हुन् ।
फिफा वरीयतामा लाओस १८६औँ र नेपाल १७५औँ स्थानमा छन् । नेपालले भोलि दशरथ रंगशालामा छनोटको पहिलो खेल लाओससँग खेल्नेछ । खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

विश्वकप छनोट खेल्ने अन्तिम टोलीअन्तर्गत गोलरक्षकमा किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, अविशेक बराल छन् । डिफेन्डरमा सनिस श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट रहेका छन् । यस्तै मिडफिल्डरको रुपमा सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिशरत्न छुञ्जु, मनीष डाँगी खेल्नेछन् भने फरवार्डमा अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट रहेका छन् ।

प्रतिक्रिया