गाउँमा आएको बाघ र बाँदर धपाउन वडाले गुहार्यो प्रहरी, फोटो फिचर

जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको ११ नं वडाले गाउँमा पसेको बाघ, बाँदरलगायतका वन्यजन्तु धपाउन प्रहरीको गुहार मागेको छ ।

२४ असोज, सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको ११ नं वडाले गाउँमा पसेको बाघ, बाँदरलगायतका वन्यजन्तु धपाउन प्रहरीको गुहार मागेको छ । दिनहुँ बस्ती पसेर बाँदरले दुख दिइरहेको बेला केही दिन यता बाघले समेतगाउँका घरपालुवा जनावर मार्न थालेपछि बुधबार ठूलो संख्याका प्रहरीले गाउँलेसँग मिलेर वडामा गस्ती गरे ।
वडाका गाउँ बस्तीहरुमा बाँदर, बाघ लगायतका वन्यजन्तुले ज्यादै दुःख दिन थालेपछि प्रहरीको सहयोग मागिएको वडा अध्यक्ष रोसनराज गिरीले बताए । ‘बाँदर, बँदेल, मृग लगायतका वन्यजन्तुले पहिलेदेखि वडाका किसानको बालीनाली सखाप पारेर सास्ती भोगिरहेका थिए, पछिल्लो समयमा बाघनै गाउँमा बस्न थालेपछि प्रहरीसंग सहयोगका लागी अपिल गरियो’ वडा अध्यक्ष गिरीले भने । चारैतिरबाट वनजंगलले घेरिएको वडा नं ११ का तल्लो भेगका बस्ती तथा जंगलमा बुधबार इलाका प्रहरी कार्यालय बन्देउबाट सशस्त्र प्रहरी र प्रहरी चौकी साँगाचोकका जनपथ गरी ३५ जना प्रहरीको टोली बाघ लुकेको सम्भावित स्थल खोजको थियो । वडाका तल्लो भेगका महादेवटार, एक्ले, जामुने, कटुञ्जेपानी, देउराली, फँलाटे, पानीचौर, काभ्रेलगायतका जंगल तथा झाडीक्षेत्रमा प्रहरीले बाघ भने भेट्न सकेन । वडाअध्यक्ष गिरीका अनुसार बाघले खाएर छोडेका बाख्राहरुका शरिरका केही भाग भने ठाउँ ठाउँमा भेटिएको थियो ।

पछिल्लो समय बाघले किसानका २० वटा भन्दा बढी खसी, बाख्रा खाएको स्थानीय स्थानीय कृष्ण पराजुलीले बताए
। घरपालुवा जनावर खाने बाघले दिउँसै मान्छेलाई समेत झम्टिन थालेपछि प्रहरीको सहयोगमा वडाध्यय र गाउँलेले बाघ खोज्दै गाउँ बस्ती घुमेका हुन् । बाघ खोजीका क्रममा प्रहरीले बाँदर, कालिज, मृग जस्ता वन्यजन्तु भेटेको जनाएको छ। दिन भरी खोजियो बाघ भने भेटिएन अध्यक्ष गिरीले भने । गाउँमा केटाकेटी र वृद्धवृद्वा मात्रै बाक्लो उपस्थिति रहेको र हिंस्रक बन्यजन्तुको बिगबिगी बढ्न थालेपछि प्रहरीको साहारा लिनुपरेको उनको गुनासो छ ।


बाँदरको आतंक कम गर्न भने वडाको आगामी हिउँदमा रुख काट्ने योजना रहेको अध्यक्ष गिरीले सुनाए । वडाबासीले बाँदरबाट निकै सास्ती खेप्नु परेको बताउँदै उनले हिउँदमा झाडी फाँड्ने तथा बाँदर एक रुखबाट अर्को रुखमा जान नमिल्ने हिसाबले रुखहरु काट्ने योजना सुनाए । गाउँमा युवा कम भएको र वृद्धवृद्वा, महिला, केटाकेटीले सबै फँडानीको काम गर्न नसक्ने गुनासो वडा कार्यालयसमक्ष आएपछि वडाले नै रुख काटने र झाडी फाँड्ने निधो गरेको उनको भनाई छ । यसअघि पनि वडाले बाँदरबाट बालीनाली जोगाउन ठाउँठाउँमा जाल राख्ने काम गरेको थियो भने बँदेलबाट मकैलगायतका बाली जोगाउन तारबारको काम गरेको थियो ।

प्रतिक्रिया