दशैंको सातौं दिन, आज फूलपाती

आज दशैंको सातौं दिन अर्थात फूलपाती पर्व, घर घरमा शास्त्रीय विधि अनुसार फूलपाती भित्र्याई मनाइँदैछ ।

४ कार्तिक, काठमाडौं । आज महासप्तमी अर्थात फूलपाती पर्व, घर घरमा शास्त्रीय विधि अनुसार फूलपाती भित्र्याई मनाइँदैछ । हिन्दुधर्मअनुसार दशैं अन्तर्गत नौरथाको सातौं दिन फूलपाती मनाईदै आएको पाइन्छ ।

घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने चलन रहिआएको छ। काठमाडौंमा भने हरेक वर्ष आजको दिन गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली ल्याउने गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने महान् चाड दशैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ ।

प्रतिक्रिया