भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेको बताएका छन् ।

४ कार्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेको बताएका छन् ।
दसैंको अवसरमा जारी भिडियो सन्देशमा प्रधानमन्त्रीले सबै नेपालीलाई शुभकामना दिँदै हाम्रा मौलिक पर्वहरू भित्र रहेका सकारात्मक र मानवीय जीवनमूल्यका संस्कार प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकोमा जोड दिएका हुन् ।
शुभकामना सन्देशमा भनिएको छ, ‘पूर्वीय सभ्यता दर्शन, चिन्तन, परम्परा, संस्कृतिहरूका दृष्टिले हामी वैभवशाली र गौरवशाली छौं। हामीले नेपाली विशेषता र मौलिकताको सम्बर्द्धन एवं विकास गरेर ज्ञान, विज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्छौं। यस दृष्टिले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको छ। यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश समाज र संस्कृतिलाई थप समुन्नत तुल्याइँ राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो। योसँगै हाम्रा मौलिक पर्वहरू भित्र रहेका सकारात्मक र मानवीय जीवनमूल्यका संस्कार प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकोमा म जोड दिन चाहन्छु।’

प्रतिक्रिया