५ कार्तिक, काठमाडौं । आज दशैंको आठौं दिन अर्थात महाअष्टमी घर घरमा शास्त्रीय विधि अनुसार मनाईँदै छ । घटस्थापनाका दिन जमारा राखिएको पुजाकोठामा आज महागौरीको विशेष पुजा गरिन्छ ।
आश्विन शुक्ल दुर्गापक्ष अष्टमीलाई दुर्गा माताका नौ शक्तिस्वरूपहरु मध्ये आज आठौ स्वरूपको पूजन गरिन्छ।
साथै आजदेखि विजयादशमी सम्म मालश्री (मालसिरी) गीत पनि गाइन्छ। आजका दिन सम्पूर्ण धातुका सामग्री झिकेर धोएर सफा पारि नौदुर्गा भवानीको पूजनस्थलमा लगेर पूजा गरिन्छ। नौरथा तथा दशैँको रमझमको सुरु फूलपाति हिँजो देखि सुरु भएपनि मूख्य रमाइलो आजबाट आरम्भ हुनेगर्छ।
आजबाट नौदुर्गा भवानीलाई कुभिण्डो अथवा घिरौँलोको भेँडो वा मेँडो काटि चढाउने चलन पनि रहेको छ।
आजका दिन दशैंघर तथा शक्तिपीठमा घुइँचो रहने गर्छ। दशैंघरमा जमरा राखेको स्थानमा गणेश राखि वरपर ९ साना शिला राखि नौदुर्गा भवानीको पूजा गरिन्छ ।
आजको दिनलाइ दुर्गाष्टमी पनि भनिन्छ ।