दशैंको नवौं दिन आज महानवमी

आज दशैंको नवौं दिन अर्थात महानवमी घर घरमा विधिअनुसार पुजा गरि मनाइदैँछ ।

६ असोज, काठमाडौं । आज दशैंको नवौं दिन अर्थात महानवमी घर घरमा विधिअनुसार पुजा गरि मनाइदैँ छ । महानवमीका अवसरमा आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरमा दुर्गा माताको नवौं शक्ति स्वरूपा माता सिद्धिदात्रीको विशेष पूजा आराधना गरिन्छ ।

महानवमीको अवसरमा कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने चलन छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौंला र मूलालगायतको बलि दिएर नरिवल चढाउँछन् । पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो दिनलाई विशेष महत्वका साथ लिइन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । दुर्गाको प्रतीकका रूपमा आज नौ जना कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

प्रतिक्रिया