नेपालले पायो १६५ रनको लक्ष्य

त्रिकोणात्मक टी २० क्रिकेट सिरिज अन्तरगत आज युएइसँग भएको खेलमा नेपालले १६५ रनको लक्ष्य पाएको छ ।

६ कार्तिक, काठमाडौं । त्रिकोणात्मक टी २० क्रिकेट सिरिज अन्तरगत आज युएइसँग भएको खेलमा नेपालले १६५ रनको लक्ष्य पाएको छ । मुलपानीस्थित क्रिकेट मैदानमा बिहान ११ बजेदेखि भएको खेलमा टस जितेको नेपालले पहिले बलिङ गरेको थियो । ब्याटिङको निम्तो पाएको युएइले सबै २० ओभर खेल्दा ७ विकेटको नोक्सानीमा १६४ रन जोड्यो । नेपालका लागि सोमपाल कामी र अभिनास बोहराले महत्वपूर्ण दुई दुई विकेट लिए । करन केसी र गुल्सन झाले एक एक विकेट लिए ।
नेपाल एक खेल अघि नै फाइनल प्रवेश गरिसकेको छ । यद्यपी आजको खेल फाइनल प्रवेशका लागि हो । नेपाल, युएइ र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि युएईलाई पहिलो खेलमा ७ विकेटले हराएको थियो ।
आजको खेल जिते वा हारे नेपाल र युएइ नै प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल कार्तिक १० गते कीर्तिपुर खेल मैदानमा हुँदै छ । यो खेलमा नेपालले युएइलाई जिते हालको नेपालको टी २० र्याङकीङ माथि जाने छ । खेल हारेमा भने माथि उक्लिेने सम्भावना रहन्न । मेन्स टी २० र्याङकीङमा नेपाल १६ औं स्थानमा छ भने युएई १७ औं स्थानमा छ, हङकङ २१ औं स्थानमा छ ।

प्रतिक्रिया