पाहुनाको स्वागतमा तम्तयार त्यांथलीको अरनिको भिलेज (फोटो फिचर)

अरनिको राजमार्ग हुँदै नेपाल र चीनबीचको व्यापारिक सिमानाका तातोपानी जाँदा नयाँ पुल अर्थात हाल बन्जी जम्पीङ र द लास्ट रिसोर्ट, हेली रिसोर्ट रहेको स्थानबाट पैदल हिंडेर र सवारी साधनबाट सहजै त्यांथली पुग्न सकिन्छ ।

८ कार्तिक, सिन्धुपाल्चोक । निलो आकाशमा सेता बादलका टुक्राले हेरिरहेको लोभ लाग्दो त्यांथली गाउँ । भीर पाखाको बीचमा चिटिक्क परेको थली, अर्थात उँचो भागको समथर जमीन । अरनिको राजमार्ग नबन्दा नेपालीहरु भोट अर्थात तिब्बत जाने बाटो । नुन देखि सुन सम्म तिब्बतबाट आयात गर्नु पर्ने तत्कालीन परिस्थितिमा त्यांथली चीन तर्नु अघिको नेपाल तर्फको आरामदायी बासस्थान थियो । स्थानीय अग्रजहरुका अनुसार त्यांथली पार गरेपछिको बुल्कुटे झ्याले खोलाको झ्याले भीर पार गर्नु काललाई जित्नु सहर थियो । पहराको बाटोमा लहरो समातेर जानुपर्ने भएकोले पनि यात्रा निकै कठिन थियो । त्यही भएर तिब्बत हिंडेका व्यापारीदेखि भरियासम्म त्यांथलीमा बास बस्दथे । एक अर्कालाई सहज यात्राको कामना गर्दथे ।
कलाकार अरनिकोलाई स्वागत गर्न तिब्बतीयहरु यहि गाउँसम्म आइपुगेका थिए भन्ने किंवदन्ती छ । त्यहि भएर पनि त्यांथलीको स्थान विशेष छ । अरनिको राजमार्ग हुँदै नेपाल र चीनबीचको व्यापारिक सिमानाका तातोपानी जाँदा नयाँ पुल अर्थात हाल बन्जी जम्पीङ र द लास्ट रिसोर्ट, हेली रिसोर्ट रहेको स्थानबाट पैदल हिंडेर र सवारी साधनबाट सहजै त्यांथली पुग्न सकिन्छ । पुरानो इतिहास बोकेको सानो गाउँको बीचबाट सडक मार्ग बनाइएको छ । सोहि सडक हुँदै गाउँको पल्लो छेउमा छ, अरनिको भिलेज ।


अरनिकोले चीनतर्फ जानेबेला बास बसेको गाउँकै सम्झनामा नाउँ राखिएको अरनिको भिलेज सामुदायिक होमस्टेको सोचबाट निर्माण गरिएको स्थानीय कुमार राउत बताउँछन् । निकै मेहनतले बनाइएका होमस्टे सञ्चालनका लागि अन्तिम तयारी भइरहेको राउतको भनाई छ । नेपाल चीन सिमाना नजिकै रहेर अर्गानिक खानाको स्वाद लिन अरनिको भिलेज उत्कृष्ट गन्तव्य बन्ने पक्का पक्की छ । मेहनतपूर्वक बनाइएका ससाना पुराना शैलीका कटेज, शान्त वातावरण, होमस्टे मार्फत वा आफैं पकाएर खाने बस्ने सुविधा भएको यो भिलेज धेरैका लागि रोजाइको स्थान बन्न सक्छ ।


काठमाडौंबाट १०२ किलोमिटर पार गरेपछि पुगिने अरनिको भिलेजमा हाल ९ वटा कटेज छन् । हरेक कटेजमा ३ वटा कोठा छन् । होमस्टे सञ्चालनको सोच सहित काम गरिरहेका राउतका अनुसार भिलेमा कम्तिमा ३६ जना बढीमा ५४ जना सम्मलाई एकैपटक बास तथा खानपीनको सुविधा उपलब्ध छ ।


फोटो : विजय गौतम

प्रतिक्रिया