दशैंमा किसानलाई धान थन्क्याउने चटारो

जिल्लाका किसानलाई दशैंको टिकाको भोलीपल्टैबाट धानबाली भित्र्याउने चटारो सुरु भएको छ ।

९ कार्तिक, सिन्धुपाल्चोक । जिल्लाका किसानलाई दशैंको टिकाको भोलीपल्टैबाट धानबाली भित्र्याउने चटारो सुरु भएको छ । बिहान उठेदेखि बेलुकासम्म यतिबेला किसानहरु धान खेतमै धान काट्न र धान भित्र्याउन ब्यस्त हुने गरेका छन् । दशैंको टिका कोजाग्रत पुर्णिामासम्म लगाउने गरिन्छ तर किसान धान थन्क्याउन खेतमा देखिन थालेका छन् ।

असारमा रोपेको धान राम्रोसँग मल र जल मिलेपछि अहिले ठिक्क पाक्ने समय हुन्छ तर यो वर्ष भने समयमा वर्षा नभएको र रासायनिक मलको अभाव भएको कारण सोचेजति धान नफलेको किसानको गुनासो छ । सिंचाई सुविधा पर्याप्त भएको ठाउँमा धान राम्रै फलेपनि टारी खेतमा भने धान कतैपनि राम्रोसँग नफलेको स्थानीय किसान माधव पराजुलीले बताए । उनले धानको बाला लाग्ने समयमा फौजी किराले आक्रमण गरेको, समयमा विषादी नपाएको बताए ।
“किटनाशक विषादीको प्रयोग कसरी कुन समयमा गर्ने थाहा पाइएन अनि बजारमा पनि भेटिएन र यसपाली धान राम्रै फलाउन सकिएन” उनी भन्छन् । “पोहोर १५ मुरि धान भित्र्याएको खेतबाट यसपाली ८ मुरि मात्रै भित्र्याएँ”, पराजुली थप्छन् ।

सिन्धुपाल्चोक जिल्लामा विशेषगरि जि-टेन, जि-फाइभ, मकवानपुरे, खुमलचार, शंकर, यु एस-३१२ नामका धान प्रचलित रहेका छन् । मुख्य बालीको रुपमा धान रहेपनि यहाँ धान संगै मकै, गहुँ, जौ लगायतका अन्न साथै नगदेबाली पनि खेति गर्ने गरिएको छ।

प्रतिक्रिया