संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आइतबार नेपाल आइपुग्ने, मंगलबार संसदमा सम्बोधन

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।

११ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।
२०१७ जनवरीमा पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले कार्तिक १४ गते मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग संक्षिप्त कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ । उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पर्यटकीय नगरी पोखराको भ्रमण गर्ने कार्यतालिका छ ।
महासचिवका साथमा संयुक्त राष्ट्रसंघका शान्तिकार्यका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसंघको टोली पनि सहभागी हुनेछ । भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डलगायतसँग भेटवार्ता गर्नेछन् । महासचिव गुटेरेस आगामी बुधबार काठमाडौंबाट फिर्ता हुनेछन् । यस अघि नै आउने कार्यतालिका तय भएपनि मध्यपूर्वमा देखिएको कलहका कारण भ्रमण पछि सरेको हो ।

प्रतिक्रिया