‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ एक महिना थपियो

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले भदौ १६ देखि सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ एक महिना थपिएको छ ।

१३ कार्तिक, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले भदौ १६ देखि सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ एक महिना थपिएको छ । आइतबार बिहान बसेको माओवादी पार्टीको पदाधिकारी बैठकले तीनमहिने अभियानको समय एक महिना थप गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । गत भदौ १६ गतेदेखि सुरु भएको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ प्रभावकारी हुँदै गएको र अरू अभियानका बाँकी काम पूरा नभएकाले अवधि थप्ने निर्णय भएको हो।
‘घर घरमा माओवादी जन जनमा माओवादी’ भन्ने नाराका साथ सुरु भएको अभियान आगामी मङ्सिर १५ गते सक्ने निर्णय भएको थियो । अब अभियान पुस १५ गते सकिने भएको छ ।
पार्टी सचिव लिलामणी पोखरेलले अभियान सफल हुँदै गएको बताए । उनले भने “पार्टी अभियानमा सबै नेता कार्यकर्ता जोडिएका छन्, निष्व्रिmय भएकाहरू सक्रिय भएका छन् । अभियानले पार्टीलाई गतिशील बनाएको छ, । पार्टी सचिव पोखरेलले भने , “नयाँ सदस्यता र पुराना पार्टी सदस्यको नवीकरण गर्न समय लाग्ने भएकाले अवधि थप गर्ने निर्णय भयो । दसैँतिहार र छठ जस्ता पर्वले थोरै असर गरेकामा यो एक महिनाले पूर्ति गर्ने छ ।”
उनले जारी अभियानले नै पार्टी कस्तो बन्ने निर्धारण गर्ने भएकाले सबै नेता कार्यकर्ता अभियानमा जोडिन आग्रह गरिएको बताए । पार्टी अभियान सकिएलगत्तै माघ वा फागुनमा विधान सम्मेलन गर्ने माओवादीले तयारी गरेको छ ।

प्रतिक्रिया