आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपालको विजयी सुरूवात

आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपालले विजयी सुरूवात गरेको छ ।

१३ कार्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपालले विजयी सुरूवात गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार बिहान सिंगापुरलाई आठ विकेटले हराउँदै विश्वकप छनोटमा नेपालले विजयी शुरूआत गरेको हो ।
सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमै दुई विकेट गुमाएर पूरा गर्‍यो । नेपाललाई जीत दिलाउने क्रममा कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । ४७ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रनको योगदान गरे। यस्तै आर्यावीर चौधरीले ३९, मनप्रित सिंहले २० रन बनाए ।

नेपालका लागि अविनाश बोहराले ​सर्वाधिक तीन विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाले दुई/दुई विकेट लिए । यस्तै करण केसीले एक विकेट लिए ।

आजदेखि शुरू भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया