आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र मलेसिया खेल्दै

काठमाडौंमा सोमबारदेखि जारी आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

१४ कार्तिक, काठमाडौं । काठमाडौंमा सोमबारदेखि जारी आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । हिजो भएको पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपाल र अर्को प्रतिस्पर्धी मलेसियाबिचको खेल कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो १ :३० बजे बजे सुरु हुनेछ ।

आजै समूह ‘ए’अन्तर्गत आजै ओमान र सिंगापुर पनि खेल्दै छन् । आजको खेलमा ओमान र नेपाल दुवै विजयी भएमा समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान बनाउने पक्का छ।  ८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट हुने प्रावधान छ ।

मंगलबार कुल चार खेल हुनेछ । ओमान र सिंगापुरबीचको खेल टीयू मैदानमै बिहान ९ बजे सुरु हुनेछ । यस्तै समूह ‘बी’अन्तर्गत बहराइन र हङकङबीचको खेल मुलपानी मैदानमा बिहान ९ बजे सुरु हुनेछ । मुलपानी मैदानमै यूएई र कुवेतबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

प्रतिक्रिया