शान्ति स्थापनामा नेपालको मौलिक अभ्यास : महासचिव गुटरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताएका छन् । आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपाललाई राष्ट्रसंघका तर्फबाट सम्मान व्यक्तसमेत गरे।

१४ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताएका छन् । आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपाललाई राष्ट्रसंघका तर्फबाट सम्मान व्यक्तसमेत गरे। ‘नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसंघ गौरव व्यक्त गर्दछ, यस क्षणमा म नेपालको शान्ति प्रक्रियामा संलग्न नेताहरूप्रति राष्ट्रसंघका तर्फबाट सम्मान व्यक्त गर्दछु,’ सम्बोधनका क्रममा महासचिव गुटेरेसले भने।
नेपालले शान्ति प्रक्रियाअन्तर्गत संक्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्‍याउन लागेकामा शुभेच्छा व्यक्त गर्दै महासचिव गुटेरेसले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुंगोमा पुर्‍याउन आग्रह गरे। महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैंगिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताए। “यो असाधारण देशको भ्रमण गर्न पाउँदा म ज्यादै खुशी छु । मैले देखेका कुराले एक सामान्य सत्यलाई पुष्टि गर्दछन् – नेपाल विश्वको मित्र हो । विश्व नेपालका लागि असल मित्र हुनुपर्छ” उनले भने । नेपालमा संघीय सांसदहरुसँग साक्षात्कार हुन पाउनु आफ्नो लागि सम्मानको कुरा भएको चर्चा गर्दै उनले मनमोहक नेपालमा पुनः आउन पाउनु आफ्नो लागि सौभाग्य भएको बताए ।
“जति पटक म यहाँ आएको छु, म छक्क परेको छुँ” महासचिव गुटेरेसले भने, “विगत केही दिनमा मैले देखेका र अनुभव गरेका कुरा मसँग सधैं रहनेछन् । हिमालयमा सूर्यको किरण, जनसमुदायको न्यानोपन र समृद्ध सांस्कृतिक विविधताको अनि पक्कै पनि लुम्बिनीको पवित्रता । म र मेरो प्रतिनिधिमण्डललाई तपाईँहरूको निमन्त्रणा, तपाईँहरूको आतिथ्यता र स्वागतका लागि म नेपाल सरकारलाई धन्यवाद दिन्छु ।”

प्रतिक्रिया