आइसीसी टी-२० विश्वकप छनोट खेलको सेमिफाइनलमा नेपाल

आइसीसी टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।

१४ कार्तिक, काठमाडौं । आइसीसी टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।

आज किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेट गुमाएर भेट्टाएको थियो ।

नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।

त्यसअघिको खेलमा अविनाश बोहराले ४ विकेट, सन्दिप लामिछाने, गुल्शन झा र रोहित पौडेलले १ १ विकेट लिँदा मलेसियाले ९ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने टिममा नेपाल र ओमान बनेका छ । ओमानले पनि आज बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो । पराजयसँगै सिंगापुर र मलेसिया भने बाहिरिएका छन् ।

प्रतिक्रिया