चार दिने भ्रमण पूरा गरी फर्किए संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् ।

१५ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् । बुधबार बिहान १० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएका हुन् । नेपाल भ्रमणको क्रममा गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दैे नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताएका थिए ।

सोही दिन दिउँसो लुम्बिनी क्षेत्रको भ्रमण गरी उनले विश्व शान्तिमा नेपालको योगदानको चर्चा गर्दै युद्धरत मुलुकहरुलाई शान्ति कायम गर्न आह्वान गरेका थिए । नेपालमा रहँदा उनले सगरमाथाको आधार शिविर अन्नपूर्ण पदमार्गसमेत भ्रमण गरे । उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असरको विश्व समुदायको ध्यानाकर्षण गराएका थिए । उनले संघीय संसदमा पनि जलवायु परिवर्तनको असरबारे बोल्दै जलवायु परिवर्तनको संकटमा नेपालको मुद्दालाई अन्तराष्ट्रियकरण गरिदिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी आइतबार नेपाल आएका थिए । २०१७ जनवरीमा पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्तासमेत गरेका थिए ।

प्रतिक्रिया