दक्षिण एशिया फेष्टिभल्स एन्ड कल्चर एकेडेमीका लागि ब्रिटिश काउन्लिसले माग्यो आवेदन

ब्रिटिश काउन्सिलले एडिनबर्ग न्यापियर विश्वविद्यालयसँगको साझेदारीमा दक्षिण एशिया फेष्टिभल्स एन्ड कल्चर एकेडेमी (साफ्का) कार्यक्रममा सहभागिताका लागि आवेदन खुला गरेको छ ।

१५ कार्तिक, काठमाडौं । ब्रिटिश काउन्सिलले एडिनबर्ग न्यापियर विश्वविद्यालयसँगको साझेदारीमा दक्षिण एशिया फेष्टिभल्स एन्ड कल्चर एकेडेमी (साफ्का) कार्यक्रममा सहभागिताका लागि आवेदन खुला गरेको छ । दक्षिण एशिया फेष्टिभल्स एकेडेमीको इन्टरमिडियट कोर्स सन् २०२४ को जनवरीमा शुरु हुनेछ । यसको आवेदन भने सन् २०२३ को नोभेम्बर १९ सम्म खुला रहनेछ ।

अहिले विश्वभर स्वतन्त्र र स्थापित कला र संस्कृति मेलाहरुको वृद्धि भइरहेको प्रतिक्रियामा यो आवेदन खुलाइएको काउन्सिलले जनाएको छ । यसले भारत र दक्षिण एशियाका उसका छिमेकी देशहरुमा अनलाइनमार्फत ज्ञान र अन्तरदृष्टि आदानप्रदानमा सहजीकरण गर्ने ब्रिटिश काउन्सिलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । काउन्सिलको जारी प्रेस विज्ञप्ति अनुसार साफ्कामा फेष्टिभल म्यानेजरहरुलाई फेष्टिभल व्यवस्थापनमा सफलताका लागि आवश्यक सिपयुक्त बनाउन विशेष गरी तयार पारिएका छोटा कोर्सहरु छन् । यी कोर्सहरुले अन्तरराष्ट्रिय प्रोग्रामिङ र क्युरेशन, नेतृत्व र सुशासन, वित्तीय व्यवस्थापन, सञ्चालन र कर्मचारी व्यवस्थापन, मार्केटिङ र दर्शक विकास, जोखिम व्यवस्थापन र स्वास्थ्य एवम् सुरक्षा, समानता, विविधता र समावेशीकरणलाई समेट्नेछ ।

ब्रिटिश काउन्सिल नेपालका निर्देशक शाहिदा म्याकडगल भन्छिन्, ‘फेष्टिभल व्यवस्थापनसम्बन्धी बलियो सिपको महत्वलाई अतिरञ्जित गर्न सकिन्न । बेलायतको विस्तृत र जीवन्त मेला÷पर्वका दृश्यहरु हेर्दा हामीलाई के थाहा छ भने यस्ता मेलापर्वहरुको राम्रो व्यवस्थापन र दक्ष मेलापर्व व्यवस्थापकले कलाको क्षेत्रमा दिगोपना र वृद्धिको थप सम्भाव्यताहरु ल्याउन सक्छन् । ‘कलाकार, अभिनेता र सृजनशीलता उद्यममा आबद्ध वा यसमा रुचि राख्ने व्यक्तिहरुलाई दक्षिण एशिया फेष्टिभल एकेडेमीले समावेशी परिस्थितिमा व्यावसायिक दृष्टिकोण विकसित गर्न असाधारण मौका उपलब्ध गराउनेछ भने अन्तरराष्ट्रिय मेला व्यवस्थापकहरुको विज्ञताबाट पनि उनीहरुले लाभ उठाउन सक्नेछन्’, उनी थप्छिन् ।

‘विश्वभर नै मेला एवम् पर्वहरु कलात्मक अभिव्यक्ति, सांस्कृतिक संवद्र्धन र समावेशिताका लागि मञ्चका रुपमा हेरिन्छ । यसले स्थानीय अर्थतन्त्रमा उल्लेख्य प्रभाव पार्न सक्छ । यसको सांस्कृतिक महत्व बेलायत र नेपाल दुवैतिर निकै धेरै छ, अनि यसले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्छ । एकेडेमीका लागि नेपालबाट आवेदन पाउने आशामा हामी छौं,’ उनले भनिन् । काउन्सिलका अनुसार १० हप्ता अवधिको सिप विकास कार्यक्रममा नेतृत्वदायक भूमिकामा सक्रिय अनुभव देखाउन सक्ने अनि मेला र संस्कृतिको क्षेत्रमा ५ देखि १० वर्षसम्म काम गरेको अनुभव भएकाबाट आउने निवेदनलाई विचार गरिनेछ भने प्रतिव्यक्ति खर्च ७५० पाउन्ड (१ लाख २१ हजार ५०० सय रुपैयाँ) लाग्नेछ । तर ब्रिटिश काउन्सिलले प्रतिव्यक्ति ५०० पाउन्ड सहुलियत दिनेछ । अर्थात् कुल खर्च २५० पाउन्ड (४० हजार ५०० रुपैयाँ) मात्रै हुनेछ ।

प्रतिक्रिया