महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रयासरत छौं :  मन्त्री श्रेष्ठ

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न एवं सञ्चार क्षेत्रमा उनीहरुको निरन्तरताका लागी मन्त्रालयले प्रयास गरिरहेको बताएका छन् ।

१७ कार्तिक,  चितवन । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न एवं सञ्चार क्षेत्रमा उनीहरुको निरन्तरताका लागी मन्त्रालयले प्रयास गरिरहेको बताएका छन् । बिहीबारदेखि बागमती प्रदेश, सञ्चार रजिष्ट्रारको  कार्यालयले चितवनमा आयोजना गरेको पत्रकार महिलाहरुका लागि समाचार लेखन तथा सम्पादन कार्यशालाको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले महिलाले विभिन्न कारणले बिचैमा पत्रकारिता  छोड्नु परिरहेकोप्रति दुख ब्यक्त गर्दै त्यो रोक्न प्रयास गरिरहेको बताए । उनले सञ्चार रजिष्ट्रारको कार्यालयले महिला सञ्चारकर्मीबाटै २०८०/८१ को बजेटको कार्यान्वयन सुरु गरिएको  सुनाए । कार्यशालामा सहभागी महिला पत्रकारहरुका लागि यो राम्रो अवसर रहेको भन्दै उनले यसको महत्व बुझिदिन अनुरोध समेत गरेका थिए ।

कार्यक्रमका सभाअध्यक्ष बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले विवाहपछि र आमाबनेपछि महिलाहरु पत्रकारिकाका क्षेत्रमा निष्क्रिय हुने गरेकोप्रति दु:ख व्यक्त गरे ।  उनले यो तालिम आयोजना गर्नुको उदेश्य स्पष्ट पार्दै भने, “लेखन कला भएका महिलाहरुले कार्यालय नगई घरबाटै डेस्क सम्हाल्न सकुन, बच्चालगायत घरको काम गर्दै महिलाहरु पत्रकारितामा निरन्तर लाग्न सकुन भनेर डेस्क सम्हाल्न सक्ने महिला पत्रकार बनाउन हामीले जोड दिएका हौं ।” उनले सञ्चारमाध्यमबाट महिला पत्रकारहरुलाई सुत्केरी भएपछि जागिरबाट निकाल्ने र त्यसपछि महिलाहरु पत्रकारितामा निष्क्रिय हुने प्रवृति बढेको बताए ।

रजिस्ट्रार सापकोटाले आफूहरु सुत्केरी अवस्थाका पत्रकार महिलालाई घरमै बसेर काम गर्न लगाउने र पत्रकार कल्याण कोषको पैसा परिचालन गरेर महिलालाई प्रोत्साहन गर्ने कोसिसमा रहेको बताए । सापकोटाले बागमती प्रदेश, सञ्चार रजिष्ट्रारको कार्यालयबाट परिचयपत्र प्राप्त गरेका पत्रकारहरुलाई साँढे सात लाखको बिमा गरेको जानकारी दिए । उनले एकजना पत्रकार बराबर एक हजार भन्दा बढीको प्रीमियम तिर्ने गरेको तजसमा एक लाख औषधि उपचार एवं मृत्यु भएको खण्डमा आठ लाख साठी हजार पुग्ने जानकारी दिए । सापकोटाले यो वर्ष ३ सय ६० जना पत्रकारको बिमा गरिसकेको जानकारी दिए । उनले सक्षम पत्रकारलाई भौतिक सुरक्षा प्रदान गर्ने र गुणस्तरीय समाचार लेख्न सक्ने बनाउने उदेश्यले बिमा कार्यक्रम ल्याइएको बताए ।

कार्यक्रमकी अतिथि पत्रकार महासंघकी प्रतिनिधि सृजना अर्यालले महिलाहरु पत्रकारितामा लाग्नु चुनौतिपूर्ण भएपनि डटेर लाग्न सुझाव दिइन् । बिहिबार सुरु भएको समाचार लेखन तथा सम्पादन कार्यशाला आगामी सोमबारसम्म सञ्चालन हुनेछ । प्रशिक्षकका रुपमा विनोद ढुङ्गेल र सुरेन्द्र पाण्डे छन् ।

सो कार्याशालामा रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र दोलखाका गरि जम्मा ३१ पत्रकार महिला सहभागी छन् । कार्यशालाको उद्घाटन पछि कतिपय सहभागीले प्रशिक्षकका रुपमा एकजना भएपनि पत्रकार महिला भएको भए अझ सहज हुने प्रतिक्रिया दिएका थिए ।

बागमती प्रदेशका सञ्चार रजिष्ट्रारको कार्यालयले मोबाइल पत्रकारिता, विधागत पत्रकारिता एवं अन्य आवश्यक तालिम सञ्चालन गर्दै आएको छ । संघीयता कार्यान्वयनका क्रममा बागमती प्रेदशमा सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना भएपछि सो कार्यालयले सञ्चार क्षेत्रका उल्लेख्य कार्य सम्पादन गरेको छ।

प्रतिक्रिया