नेपाल प्राकृतिक प्रकोपका हिसाबले उच्च जोखिमयुक्त देश हो । तथ्यांकहरु केलाउँदा भूकम्पीय जोखिममा ११ औं स्थानमा र बहुप्रकोपको हिसाबले विश्वमा १६ औं स्थानमा रहेको छ ।
उदयपुर जिल्लालाई केन्द्रविन्दु बनाएर २०४५ साल भदौ ५ गते विहान नेपालमा गएको भूकम्पबाट पूर्वी नेपालमा ठूलो जनधनको क्षती भयो । ६.७ रेक्टर स्केलको सो भूकम्पबाट ७५० मानिसले ज्यान गुमाएका थिए । देशभर धक्का महसुस भएपनि पूर्वी नेपालमा धेरै प्रभाव पर्न गयो । जहाँ पर्यो त्यहि पीडा र सिकाई भयो । भूकम्पको कम प्रभाव परेका स्थानमा भूकम्पसँग जोडिएको पूर्व तयारी र भूकम्प पछिको उद्धार एवं राहतका विषयमा आवश्यक काम हुन सकेन ।
परिणाम स्वरुप गोर्खा केन्द्रविन्दु भएर २०७२ वैशाख १२ गते गएको महाभूकम्पका कारण नेपालले झन ठूलो क्षती बेहोर्नु पर्यो । विक्रम सम्वत १९९० साल पछिको सबैभन्दा ठूलो ७.८ रेक्टर स्केलको भूकम्पले सिन्धुपाल्चोकमा सबैभन्दा धेरै मानवीय र भौतिक क्षती भयो । देशभर ९ हजार हाराहारीले जीवन गुमाउँदा सिन्धुपाल्चोकमा मात्रै ३ हजार ५ सय ७५ जनाको ज्यान गयो । जिल्लाका ९५ प्रतिशत भन्दा बढी घर पूर्ण रुपमा भत्कियो ।
भूकम्प पछिको राहत, उद्धार र पुनर्निर्माणका लागि सरकारले प्राधिकरण नै गठन गरेर धेरै प्रभावित १४ समेत २९ जिल्लामा विशेष कार्यक्रम सञ्चालन भए । झण्डै दशक लगाएर पुनर्निर्माण सकियो । यी प्रभावित जिल्लाहरुले जे जति कुरा सिके त्यो पनि सोहि ठाउँमा सिमित भयो । अघिल्लो महिना बझाङ र कार्तिक १७ गते राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्प गयो । पश्चिम नेपालले व्यहोरेको यो ठूलो भूकम्प हो । यस विचमा पश्चिम नेपालमा भूकम्प जानसक्छ भनिएको थियो तर पूर्व तयारी पुगेन । ठूलो मानवीय र भौतिक क्षति भयो । विवरणहरु आइरहँदा १२९ जनाको मृत्यु भइसकेको छ । खोज तथा उद्धार जारी छ । हामीसँग अनुभव भयो तर त्यसलाई साझा गर्न सकिएन । सिन्धुपाल्चोकले पीडा पछि उठेको विषय बझाङ, जाजरकोट र रुकुम पश्चिममा बाँड्न सकिएन । यसमा कसको कमजोरी हो केलाउनु आवश्यक छ ।
अब भने शीर्षक अनुसारको कुरा गरौं
२०७२ को महाभूकम्पले थलिएको सिन्धुपाल्चोक एक पटक त उठ्नै सक्तैन कि जसरी बसेको थियो । घर मात्रै ढलेको थिएन, ढलेका प्राय जस्तो घर र गाउँहरुका मानिस पनि कहिल्यै नउठ्ने गरी ढलेका थिए । घर छैन, आफन्त छैन, बाँचेकाहरुको अंग भंग भएका छन, अफवाह फैलाइएको छ, बाटो छैन, पानी छैन, सान्त्वना दिने मानिस छैन । अब सकियो जस्तो महसुस हुँदै गर्दा सरकार, गैर सरकारी संघसंस्था र अन्तरार्ष्ट्रिय संघसंस्थाबाट भएको सहयोगले केही आशा पलाएको थियो । पहिले आफै उठ्नु पर्ने, परिवारका सदस्य उठाउनु पर्ने, बाच्ने आधार जुटाउनु पर्ने, क्षण क्षणमा आइरहने पराकम्पबाट बच्नु पर्ने, बाँचेका पशुबस्तु स्याहार्नु पर्ने, कुटो देखि ढुटो सम्मका लागि गुहार्नु पर्ने अनौठो अवस्था आइलागेको थियो ।
समय चल्दै गयो । बर्षात सुरु भयो । ओत लाग्न बनाइएका छाप्राबाट पानी चुहियो । भूकम्पले थिलथिलो बनाएका पहाडमा असंख्य पहिरो लड्यो । बाढी पनि उत्तिकै आयो । डर माथि डर थपियो । जाऔं कहाँ जाऔं बसौं कसरी बसौंको अवस्था थियो । अस्थायी बसोबासले जीवनप्रति नै अनेकन सोच आएर मानसिक समस्या भोग्नेहरुको संख्या कोभिडकालको भन्दा बढी थियो । सुरक्षा चिन्ता उस्तै थियो । विपदको मौका पारेर बालबालिका र किशोरीहरुको बेचविचख गर्नेहरु विभिन्न बहान बनाएर गाउँ पस्दथे । अभिभावक गुमाएकाहरुको अन्योलता एवं अनिश्चितता अझ भयानक थियो ।
घर र मन सँगै उठाउनु पर्ने थियो । धर्तीमा अनेकन पीडा सहेर हुर्केको संघर्षशील मानव जातीले हरेक दिन संघर्ष गर्नुको विकल्प थिएन । सरकार, सहयोगी संघसस्था र सहयोगी मनहरुले आशाको त्यान्द्रो अली बलियो बन्दै थियो । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेर ढलेका घर उठाउने प्रयास थाल्यो । तथ्यांक संकलन, घर परिवारको संख्या एकिन गर्ने काम मै धेरै समय खर्च भयो । प्राधिकरणले विभिन्न नमुना डिजाइनमा घर बनाउन सकिने र तोकिएको घर बनाउनेलाई राहत स्वरुप २ लाख ५० हजार सम्म अनुदान उपलब्ध गराउने निर्णय गर्यो ।
घर बनाउन अनुदान पनि आउने भयो, विस्तारै विस्तारै मन बुझाउँदै अघि बढेका सिन्धुपाल्चोका बासिन्दालाई ठूलो समस्या परेको विषय थियो घर उठाउन चाहिने जनशक्ति । नमुना डिजाइन अनुसारको घर बनाउन डकर्मी तालिम लिएका मानिस सहभागी हुनु पर्ने नियम थियो । हरेकको घर बनाउनु पर्ने भएकोले ऐंचो पैंचोमा पनि गारो परेको थियो । भूकम्प पछि ठूलो संख्यामा स्थानीयले बसाइ नै सारको अर्को पीडा थियो । घर बनाउन चाहिने दक्ष र अदक्ष कामदारको अभाव झेलीरहँदा अहिले भूकम्पको मार खेपिरहेको रुकुम र जाजरकोटबाट ठूलो संख्यामा मानिसहरु सिन्धुपाल्चोकमा पुगेका थिए । दशौं हजारको संख्यामा करिब २ बर्ष सम्म रुकुम, जाजरकोट, बझाङ, कालिकोट लगायतका जिल्लाबाट आएका पुरुष र महिला कामदारले जिल्लाका ८० हजार हाराहारी घर बनाउन मद्धत गरे । उनीहरुले घर मात्रै होइन सार्वजनिक भवन, विद्यालय, सामुदायिक भवन, शौचालय बनाउन पनि उत्तिकै योगदान दिए ।
पैसा भएर केही नहुने बेला थियो । सरकारले पैसा दिएको थियो तर काम गर्ने मानिस थिएनन् । त्यो संकटमा बारीका पाटामा सुतेर, छाप्रोमा बसेका सिन्धुबासीलाई घरमा बस्न अहोरात्र खट्ने ति तमाम मानिसहरु अहिले भूकम्पको मारमा छन् । कयौंले जीवन गुमाएका छन् , कयौंले हिजो सिन्धुबासिले जस्तै पीडा भोगिरहेका छन् । ‘खुकुरीको चोट अचानोलाई सोध’ भनेजस्तै जसले पीडा भोगेको हुन्छ उसैलाई मात्रै बास्तविकता थाहा हुन्छ । हिजो सिन्धुबासीको पीडामा मलम लगाउन सहयोगी बनेका रुकुम, जाजरकोट र पश्चिम नेपालका प्रभावितहरुलाई सक्दो सहयोग गरौं । मानवीय बनौं ।