जाजरकोट र रुकुमको पीडामा मलम लगाउँदै सिन्धुका स्थानीय तह, ४३ लाख जुट्यो

सिन्धुपाल्चोकका स्थानीय तहरुले जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राती गएको भूकम्प परी प्रभावित बनेकाहरुलाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । शनिबार साँझ सम्ममा बलेफी, जुगल, बाह्रविसे, त्रिपुरासुन्दरी र भोटेकोशीले राहत रकम घोषणा गरिसकेका छन् ।

१९ कार्तिक, चौतारा । सिन्धुपाल्चोकका स्थानीय तहरुले जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राती गएको भूकम्पबाट प्रभावित बनेकाहरुलाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । शनिबार साँझ सम्ममा बलेफी, जुगल, बाह्रविसे, त्रिपुरासुन्दरी र भोटेकोशीले राहत रकम घोषणा गरिसकेका छन् । प्रधानमन्त्री केन्द्रीय राहतकोष मार्फत एकद्वार प्रणालीमा रकम जम्मा गर्नेगरी सिन्धुपाल्चोकका पाँच स्थानीय तहले रकम घोषणा गरीसकेका छन् । बाह्रविसे नगरपालिकाले १५ लाख, भोटेकोशी गाउँपालिकाले १० लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख, बलेफी गाउँपालिकाले ५ लाख र जुगल गाउँपालिकाले ३ लाख सहयोग गर्ने घोषणा गरेका हुन् । स्थानीय तहहरुको घोषणाबाट हालसम्म ४३ लाख जम्मा भएको छ ।
यस वर्ष संघीय र प्रदेश सरकारबाट आउने अनुदान रकममा ठूलो कटौती भएपछि बजेन निर्माणमा नै अप्ठेरो भोगेका स्थानीय तहहरुले भूकम्पको पीडामा भने दिल खोलेर सहयोग गरेका छन् । जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले सामाजिक सञ्जालमा लेखेका छन् ‘यस दुखद घडीमा जुगल गाउपालिकाको तर्फबाट रु ३००,००० तीन लाख सहयोग गर्ने प्रतिवद्दता ब्यक्त गर्दै गाउपालिका अध्यक्ष को १ महिना को पारिश्रमिक् र अमेरिकामा अध्ययनरत मेरो छोरी कुसुम स्याङ्बोको तर्फबाट रु ५०,००० पचास हजार सहयोगको घोषणा गर्दछु।’
बलेफी गाउँपालिकाले विपद्का बेला एक अर्कालाई सहयोग महत्त्वपूर्ण हुने हुनाले भूकम्प पीडित जाजरकोट र रुकुम पश्चिमको लागि राहत सहयोग स्वरुप गाउँपालिकाको तर्फबाट राहत कोषमा रु ५ लाख सहयोग उपलब्ध गराउने घोषणा गरेको जनाएको छ । बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले पीडामा सहयोग गर्न मानवीय कार्य भएको बताए । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्जज बोहोराले सामाजिक सञ्जाल मार्फत भूकम्प पीडित जाजरकोट र रुकुम पश्चिम बासीहरुको लागी स्थानीय सरकारको तर्फबाट सहयोग उपलब्ध गराउने घोषणा गरेको बताएका छन् ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परि अहिलेसम्म १४७ जनाको मृत्यु भइसकेको छ भने १८० भन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया