तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मनाइँदैछ ।

२८ कार्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजाआजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घरआँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ ।

द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रमा उल्लेख छ ।

भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।

यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

आज नेपाल संवत् ११४४ पनि देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस नेपाल संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत सुरुवात गराएका थिए ।

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

प्रतिक्रिया