देशभरका पर्यटकलाई आकर्षित गर्दै सिन्धुको पाँचपोखरी (फोटो फिचर)

नेपालका पर्यटकीय स्थलहरू मध्ये पछिल्लो समय पाँचपोखरी लोकप्रिय गन्तब्य बनेको छ ।

२ मंसिर, सिन्धुपाल्चोक । जिल्लाको पाँचपोखरी आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जनै पूर्णिमाको अवसरमा धार्मीक पर्यटकको आउजाउ हुने गरेको पाँचपोखरी अहिले सबैजसो समयमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने गरेको छ । नेपालका पर्यटकीय स्थलहरू मध्ये पछिल्लो समय पाँचपोखरी लोकप्रिय गन्तब्य बनेको छ । काठमाडौंबाट तीन रात चार दिनको रोमाञ्जकारी यात्रा र अविश्मरणीय दृश्यावलोकनको संगम पाँचपोखरी पुग्नेहरु उत्साहित बनेर फर्कन्छन् ।

समुद्री सतहबाट ४१०० मिटर उचाइमा रहेको यो ठाउँलाई बौद्ध र हिन्दु धर्मावलम्बीको प्रसिद्ध धार्मिक स्थल मानिन्छ । सांस्कृतिक, धार्मिक र पर्यावरणीय महत्व बोकेर जुगल हिमालको फेदमा बसेको यो स्थान काठमाडौंको उत्तरपूर्वमा अवस्थित छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा फैलिएको लाङटाङ राष्टिय निकुञ्जको प्रमुख आर्कषण मध्येको पाँचपोखरी पनि एक हो । प्रकृतिसँग लुटुपुटु गर्दै पदयात्रा गर्न रुचाउने यात्रीहरुलाई पाँचपोखरीका मनोरम दृश्यहरुले डाकिरहेका हुन्छन् । यहाँबाट मोतीझैं टल्किने हिउँले ढाकेका दोर्जे लाक्पा, फुरवी छ्याचु, जुगल हिमाल, रोल्वालिङ र लाङटाङ हिमालका श्रृङ्खलाहरु नजिकैबाट नियाल्न सकिन्छ ।

ताल, झरना, सिमसार, हिमाल, पहाड, फूल बुट्यान, चट्टान, वनस्पतिलाई महसुस गर्न पाउनु नै यहाँको विशेषता हो । पाँचपोखरीको अर्को विशेषता भनेको सुर्योदय र सुर्यास्तको सुन्दर दृश्यावलोकन गर्न पाउनु पनि हो । पाँचपोखरीमा प्रत्येक वर्ष जनैपूर्णिमाको दिन मेला लाग्ने गर्छ । देशभरबाट सयौं तीर्थयात्री जनैपूर्णिमाको दिन यहाँ पुग्ने गर्दछन् र नेपालका ब्राह्मण जातिले पोखरीमा नुहाई जनै परिवर्तन गर्ने गदर्छन् । पछिल्लो समय पाँचपोखरीमा धार्मिक आस्था बोकेर जाने तिर्थयात्रीभन्दा प्राकृतिक सुन्दरतामा रमाउन जाने युवापुस्ताको उपस्थिति बाक्लिन थालेको हो । जानकारहरुका अनुसार चैत, बैशाख र असोज, कार्तिक महिनामा मौसम उपयुक्त हुने हुनाले यो समयमा पाँचपोखरीको पदयात्रामा निस्कने पर्यटकहरु प्रसस्तै भेटिन थालेका छन् । यो ठाँउले स्वदेशीमात्र नभई विदेशी पर्यटकको समेत ध्यान केन्द्रित गराउन थालेको छ । एकपटक पुगेर आउनेले यो ठाउँलाई पृथ्वीको स्वर्ग भनेर समेत भन्न भ्याएका छन् ।

पाँचपोखरीको आफ्नै धार्मिक महत्व छ । इन्द्रावती नदिको उद्गमस्थल यहि ठाउँ हो । हिन्दुधर्मावलम्बीहरुले यहाँ आएर पाँच वटा कुण्डको पुजाआजा गर्छन् । यहाँ फरकफरक आकारका पाँचवटा पोखरीहरु छन् । सबैभन्दा ठुलो पोखरीलाई सुर्यकुण्ड भनिन्छ । त्यसपछिका क्रमशः बायाँतर्फका पोखरीहरुलाई नागकुण्ड, सरस्वतीकुण्ड, गणेश कुण्ड र भैरबकुण्ड भनिन्छ । पौराणिक कथा अनुसार पाँचपोखरी क्षेत्रलाई भगवान शिव पार्वतीको बासस्थान मानिन्छ र पाँचैपोखरीलाई छोरी मानिन्छ । दायाँबाट क्रमशः जेठी, माइली, साईली, काईली र कान्छी पोखरी पनि भन्ने गरिन्छ । यहाँका पोखरीहरुलाई बाडगंगा कुरुक्षेत्रका तिर्थस्थल जत्तिकै महत्वपूर्ण मानिन्छ । यो स्थानमा रिन्पोचे, महायोगी मिलारेपा, आमा याङ्ग्री अनन्त औतारी लामा गुरुले ध्यान गरेको धार्मिक विश्वास छ ।

पाँचपोखरी तीनवटा बाटो भएर पुग्न सकिन्छ । एउटा पदयात्रा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट सानो ओखरेनी हुँदै निस्किन सकिन्छ, जिल्लाकै बलेफी, जलविरे, गुम्बाको दिपु पुगेर पनि जान सकिन्छ भने अर्को मेलम्चीबाट पाँच पोखरी थाङपाल गाउँपालिकाको गुन्सा, रैथाने पोखरी भोताङ हुँदै जान सकिन्छ । मेलम्चीबाट भोताङ हुँदै पाँचपोखरी जाने मार्ग सजिलो मार्ग मानिन्छ । आरामदायी पदयात्रा गर्नेहरु चौताराको बाटो रोज्ने गर्दछन् । काठमाडौबाट ८२ किलोमीटरको दुरिमा रहेको पाँचपोखरी घुमेर फर्किन कम्तिमा ४ दिनको समय छुट्टाउनुपर्ने हुन्छ । काठमाडौंबाट सार्वजनिक यातायात वा आफ्नै साधनमा बिहानै हिंडेपछि दिउँसो भोताङ छिम्ती पुगिन्छ । सार्वजनिक यातायात होस या निजि सवारीसाधन त्यहाँबाट अघि बढाउन सकिदैन तर दुईपाङग्रे सवारी भने देउरालीसम्म पुग्छ । छिम्तीबाटै पाँचपोखरीको पदयात्रा सुरु हुन्छ । पहिलो दिन ४ घन्टा हिँडेपछि २७०० मिटर उचाईसम्म पुगेर बास बस्नुपर्छ। त्यो ठाउँलाई टुप्पिडाँडा भनिन्छ । दोश्रो दिन बिहानै सुर्योदयसंगै यात्रा सुरु गर्नुपर्छ । मध्यान्ह् ३७०० मिटर उचाइमा रहेको नोस्यामपाटी पुगिन्छ । त्यस ठाउँलाई पदयात्रामा जानेहरुले खाना खाने ठाउँ भनेर चिन्छन । प्रायःले त्यहीँ खाना खान्छन । टुप्पिडाँडाबाट हिंडेको करिब ५ घन्टामा नोस्यामपाटी पुगिन्छ । नोस्यामपाटी चौतारा वा दिपुको बाटोहुँदै पाँचपोखरी जाने बाटोको संगम पनि हो । नोस्यामपाटी पछिको गन्तव्य भनेको सिधै पाँचपोखरी हो । सामान्य हिँडाइबाट पनि नोस्यामपाटीबाट ५ घन्टामा पाँचपोखरी पुगिन्छ ।

पाँच पोखरी क्षेत्रमा बस्न खानको कुनै समस्या छैन । तेस्रो दिन बिहान सुर्योदयको दृश्यावलोकन गर्न पाँचपोखरीको भ्यु पोइन्टमा पुग्नुपर्छ । यसका लागि पाँचापोखरीबाट करिब एक घण्टा हिड्नु पर्छ । ४३०० मिटर उचाइमा रहेको डाँडाबाट देखिने घामको पहिलो झुल्कोले सबैलाई लोभ्याउँछ । जुगल हिमाल लगायतका हिमशृङ्खला, प्रशिद्ध कलाकारले गरेको पेन्टिङ जस्ता पाँचै वटा पोखरीको दृश्यले हरेक पर्यटकलाई भुतुक्कै बनाउँछन । दुई दिनसम्म हिँड्दाको थकाई र पीडा सबै विर्सिइन्छ । तेस्रो दिन पाँचपोखरीको भ्रमण सकेर फर्किनुपर्छ र साँझसम्म जति फर्किन सकिन्छ त्यहाँ बास बसेर चौथो दिन बिस्तारै आ आफ्नो स्थानमा फर्किन सकिन्छ ।

पदमार्गमा ठाउँठाउँमा बस्ने खाने, चिया खाजा खाने ठाउँ छन् । ठाउँ ठाउँमा पानीका धारा छन् । एक्लै हिँडेपनि कतै अलमल नहुने, मेहनतपूर्वक बनाइएको पदमार्गले नलोभिने कमै मानिस भेटिन्छन् । जाजरकोट भूकम्पपछि रारा यात्रा रोकेर काठमाडौं हुँदै पाँचपोखरी यात्रा रोजेको पोखराका विनय अधिकारी बताउँछन् । तीन जना साथी सहित यात्रामा भेटिएका अधिकारीले यात्रा सोचेभन्दा राम्रो भएको सुनाए । चितवनबाट चारजना साथीमिलेर आएको सुनाएकी सजिता घिमिरेले नोस्यामपाटीमा पुगेपछि माथिल्लो भागमा फोन नलाग्ने खबर परिवारलाई दिँदै थिइन् । फराकिलो बाटो र सुन्दर भौगोलिक बनौटले आफूलाई लोभ्याएको उनको भनाई थियो । देशकै चर्चित पर्यटकीय क्षेत्र, काठमाडौं, पोखरा, चितवनलगायतका जिल्लाबाट आएकाहरुले पाँचपोखरीले लोभ्याएको बताए । टुप्पीडाँडामा बसोबासको व्यबस्था मिलाउने एक व्यवसायी काले दाइ (होटेलको नाम समेत काले दाई राखेका सामाजिक सञ्जालहरुमा चर्चीत स्थानीय) ले कोभिडपछि पर्यटकको संख्या निकै बढेको सुनाए । ‘जादु जस्तो भएको छ’ उनले भने । हिउँ परेपछि पर्यटकको संख्या अझ बढ्ने भएकोले हिउँलाई उनी ‘भगवान’ मान्दा रहेछन् । हिउँपरेपछि त मान्छे थेगिसक्नु होला जस्तो छैन उनले भने । मानेखर्कमा भेटिएका सामाजिक कार्यकर्ता कुमार भट्टराईले सो मार्ग भएर दैनिक १०० देखि २०० सम्म पर्यटक पाँचपोखरीका लागि आउने गरेको बताए । जेठ असारमा केहीलाई लेक लाग्ने समस्या देखिएपनि अरु समयमा लेक नलाग्ने स्थानीयको भनाई छ।

काठमाडौंको नारायणटारबाट ५ देखि ६ सय भाडा तिरेर भोताङ पुग्न सकिन्छ । बिहान २ वटा मात्र बस काठमाडौंबाट जाने हुनाले सार्वजनिक बसमा जानेले अघिल्लो दिन नै टिकट काट्नुपर्ने हुन्छ । बाटोमा पर्ने होटलहरुमा जहाँ बसेपनि एउटै मुल्य तिर्ने व्यवस्था मिलाइएको छ । होटेलहरुमा सादा खानाको ४०० र एउटा अण्डाको ५० पर्दछ भने चाउचाउ सुपको १०० पर्दछ। यहाँका बसोबासस्थानमा एक रात सुतेको २०० तिर्नुपर्छ । समिति मार्फत काम हुने हुनाले यसमा थपघट हुँदैन । बसेको होटलले तातोपानीको व्यवस्था गरिदिन्छन भने प्राय होटलले जेनेरेटर चलाएर मोबाइल चार्ज गर्ने व्यवस्था गरिदिन्छन् । यसले फोटो खिच्दा ब्याट्री सकिन्छ कि भन्ने चिन्ता हुँदैन। कोभिड अघि नेपाल भ्रमण बर्ष घोषणा गरेर देशका घुम्नुपर्ने १०० गन्तव्यमध्येको एकका रुपमा घोषणा गरिएको पाँचपोखरी पदयात्रा काठमाडौबाट नजिक र थोरै खर्चमा हुने पदयात्रा हो ।

प्रतिक्रिया