बा-आमाको देव रथारोहणमा जीवनी प्रकाशन गरेर उपहार

रविभवनका श्रीकृष्ण श्रेष्ठका छोरा बुहारी र सम्पूर्ण परिवारले उनको तेस्रो जंको (देव रथारोहण) को अवसरमा उनको जीवनीमा आधारित पुस्तक प्रकाशन गरी उपहार दिएको हो ।

२ मंसिर, काठमाडौं । छोराछोरी र परिवारका सदस्यले आफ्ना बाआमालाई खुसी बनाउन अनेक प्रयास गर्ने गर्दछन् । काठमाडौंको एक परिवारले बाआमाको देव रथारोहणको अवसमा जीवनी प्रकाशन गरेर उपहार दिएको छ ।
रविभवनका श्रीकृष्ण श्रेष्ठका छोरा बुहारी र सम्पूर्ण परिवारले उनको तेस्रो जंको (देव रथारोहण) को अवसरमा उनको जीवनीमा आधारित पुस्तक प्रकाशन गरी उपहार दिएको हो । आफ्ना पिताको तेस्रो जंको (देव रथारोहण) को अवसरमा उहाँको जीवनी प्रकाशन गरेर सबैलाई उपहार दिएको छोरा सुनीलकृष्ण श्रेष्ठले बताए । आमा रामेश्वरी ८४ बर्ष मात्रै भएपनि बाको उमेर अनुसार दुबैको रथारोहण भएको उनको भनाई छ । आफ्ना पिता पुर्खाले बाँचेको जीवनका आधारमा भावी सन्ततिको जीवनमा सोझो प्रभाव पर्ने भएकोले र बाको संघर्षका विषयलाई जिवीत राख्न जीवनी लेखिएको छोरा सुनीलले बताए ।
नेवार समुदायमा ८८ बर्ष ८ महिना ८ दिन, ८ घडी, ८ पला पुरा भएको अवसरमा देव रथारोहण गर्दछन् । लक्ष्मी पूजाको दिन तेस्रो जंको गरेका परिवारले बा श्रीकृष्ण र आमा रामश्वरीको सम्मानमा शुक्रबारसाँझ एक कार्यक्रम आयोजना गरी संघीय सांसद कृष्ण गोपाल श्रेष्ठ र बाआमाको हातबाट पुस्तक सार्वजनिक गरे । उपस्थित आफन्त, छरछिमेक र पाहुनाले फर्कने बेलामा जंको भएका श्रीकृष्णको पुस्तक लिएर घर गए ।
यो समुदायमा कामको मुल्यांकन र सम्मानका लागि जंको गर्दछन् । पहिलो जंकोलाई भीम रथारोहण भनिन्छ । मानिसको उमेर ७७ वर्ष ७ महिना, ७ दिन, ७ घडी, ७ पलामा गर्ने पहिलो जंको हुन्छ । दोस्रो जंको (चन्द्र रथारोहण) जन्म भएर एक हजार पटक चन्द्रमा देखेपछि गर्ने गरिन्छ । मानिस ८२ वर्षको भएपछि हजार चन्द्रमा देखेको मानिन्छ । चन्द्र रथारोहणमा लाख बत्ती बाल्ने चलन छ । तेस्रो जंको (देव रथारोहण) ८८ बर्ष ८ महिना ८ दिन, ८ घडी, ८ पलामा गरिन्छ । यसैगरी चौथो जंको ९दिव्य रथारोहण० ९९ बर्ष ९ महिना ९ दिन ९ घडी ९ पलामा मनाइन्छ । पाँचौं जंको (महादिव्य रथारोहण) १०८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पलामा मनाइन्छ । जंको गरेका नागरिकलाई देवतुल्य मान्ने चलन छ ।

प्रतिक्रिया