हेलम्बुमा नि:शुल्क विद्यालय बस सेवा सुरु

जिल्लाको हेलम्बु गाउँपालिकाले आफ्नो पालिकाभरी निशुल्क विद्यालय बस सेवा सुरु गरेको छ ।

८ मंसिर, सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु गाउँपालिकाले नि:शुल्क विद्यालय बस सेवा सुरु गरेको छ। उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागि नि:शुल्क बस सेवा सुरुवात गरेको गाउँपालिकाले जनाएको छ । बिहिबार गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दुईवटा विद्यालय बस उदघाटन गरे पश्चात् बस सेवा सञ्चालनमा आएको हो।

एकीकृत सिकाइ केन्द्र, हेलम्बुमा उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाका दुर्गम भेगका विद्यार्थीलाई लक्षित गरी बस सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । गाउँपालिका शिक्षा शाखाका अनुसार एकीकृत सिकाइ केन्द्रमा सरस्वती माध्यमिक विद्यालय, भूमेश्वरी माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयका गरी उच्च शिक्षा अध्ययन गर्ने कुल २३१ विद्यार्थी छन् । गाउँपालिकाले गत वर्ष ६० लाख रुपैयाँ विनियोजित गरी दुईवटा बस खरिद गरेको जनाएको छ ।
सिकाई केन्द्रका अनुसार बस सञ्चालन गर्दा लाग्ने इन्धन, चालक तथा मर्मत खर्च गाउँपालिकाले नै व्यहोर्ने छ । दुइ वटा बस मध्ये एउटा बसले हेलम्बु ६ इचोकदेखिको विद्यार्थीलाई सेवा दिने र भने अर्को बसले वडा नं ४, ५ र वडा नं २, किउल रुटमा पर्ने विद्यार्थीलाई सेवा दिने जनाईएको छ । (सिन्धुज्वाला)

प्रतिक्रिया