संघ र प्रदेशका जनप्रतिनिधि बोलाएर लिसंखु पाखरको सार्वजनिक सुनुवाई, पहिलो चौमासिकमा चालुतर्फ १९, पुँजीगतमा १३ प्रतिशत खर्च (फोटो फिचर)

जिल्लाको लिसंखु पाखर गाउँपालिकाले आइतबार संघ र प्रदेशका जनप्रतिनिधिको उपस्थितिमा प्रथम चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

१० मंसिर, सिन्धुपाल्चोक । जिल्लाको लिसंखु पाखर गाउँपालिकाले आइतबार संघ र प्रदेशका जनप्रतिनिधिको उपस्थितिमा प्रथम चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

कार्यक्रममा पहिलो चौमासिक अवधिमा चालु खर्चमा विनियोजन गरिएको बजेटको ६ करोड ३१ लाख २१ हजार, १९.४२ प्रतिशत, पुँजिगततर्फ विनियोजन गरेको २ करोड ४७ लाख ९७ हजार, १२.७४ प्रतिशत खर्च भएको कार्यक्रममा जानकारी दिइएको थियो । सिन्धुपाल्चोक क्षेत्र नं १ का संघीय सांसद माधव सापकोटा सुबोध, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल , अमृता नेपाल र माइली तामाङको उपस्थितिमा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठले पहिलो चौमासिकको हिसाब सार्वजनिक गरेका थिए ।
गाउँपालिका भवनको प्राङ्गणमा आयोजित सार्वजनिक सुनुवाइलाई सम्बोधन गर्दै संघीय सांसद सापकोटाले संघीय व्यवस्था कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको र संघीयता र स्थानीय सरकार ठिक कि बेठिक भनेर अन्तिम निष्कर्ष निकाल्ने बला नभएको बताए । उनले भने, ‘हामीले अभ्यास गरेको यो व्यवस्था ठिक कि बेठिक भनेर अन्तिम निष्कर्ष निकाल्ने वेला भयो, हिजोको व्यबस्थाले जनताको भावनाको प्रतिनिधित्व गर्न सकेन भनेर ३ वटा पुस्ताले लडेर अस्विकार गरेको राजतन्त्र यो व्यवस्थाको विकल्प कदापी हुन सक्दैन ।’ उनले संघियता भन्दा उन्नत प्रकारको कुनै धारणा आयो भने बहस गर्ने तर राजतन्त्र भने यसको विकल्प नरहेको बताए । सापकोटाले केहि समय धैर्य गरेर, नेपाली जनताको अवस्था परिवर्तन गर्ने बारेमा एकपटक सिंगो देश बहस र अभ्यास गर्यो भने यसले सकारात्मक सुचकहरु ल्याउने धारणा राखेका थिए । सापकोटाले भने, ‘यो लोकतन्त्र हो, गणतन्त्र हो, राजतन्त्र होइन किनभने राजाहरुको व्यवस्थामा मात्रै शासन व्यवस्था र नेताहरुको विरोध गर्न पाईँदैन थियो । लोकतन्त्र गणतन्त्रको सुन्दर पक्ष भनेकै चित्त नबुझेको आफुलाई लागेको कुरा गजबले भन्न पाइन्छ, विरोध गर्न पाइन्छ भन्डाफोर गर्न पाइन्छ । त्यसैले हामीले लोकतन्त्र भनेको हो तर अहिले सडकमा गएका सबै मान्छे राजा खोज्न गएका चैं होइनन । बैंकको ब्याज, रिन मिनाह गर्ने आश्वासनमा परेर गएका हुन ।’
बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले संघीयता कायम गर्न हरेक राजनीतिक दलले एउटा न एउटा क्रान्ति गर्नुपरेको बताए। पौडेलले संघीयता ठिक छ कि छैन भनेर दार्चुलाका जनतालाई सोध्नुपर्ने धारणा राखे । उनले त्यहाँका ग्रामीण र विकट क्षेत्रका जनताले संघियता कायम हुँदा पनि राज्यको चाहेजति अनुभुति गर्न नपाएको प्रति दुख व्यक्त गरे । उनले भने, ‘केन्द्रीकृत राज्यसत्ता हुँदाखेरि सिंगै सुदुरपश्चिम, कर्णाली लगायतका विकट क्षेत्रका जनताले राज्यको अनुभुति गर्न पाउँदैन थिए ।’ जनताले अहिले राज्यको अनुभुति गर्न पाएपनि चाहेजति अझै अनुभूति दिलाउन नसकिएको उनको स्वीकारोक्ति थियो । उनले पहिले कृषि क्षेत्रको विकास आवश्यक रहेको हुदाँ कृषि क्षेत्रमा आधुनिकपन ल्याई किसानलाई सकृय बनाउनुपर्नेमा जोड दिए ।
प्रदेश सभा सदस्य अमृता नेपालले समृद्द सिन्धुपाल्चोक बनाउन एकिकृत र केन्दृकृत ढङ्गले प्रयत्नरत भएको जानकारी दिइन । सांसद नेपालले महिला र पुरुषलाई बराबर अधिकार दिदादिदै पनि महिला पछाडि परिरहेको बताइन् । उनले महिलाले जति श्रम गरेजति सम्मान नपाएको प्रति दुख व्यक्त गरिन । उनले महिलाका क्षेत्रमा आफुले सक्ने पहल गरिरहेको बताउँदै बागमती प्रदेश सरकारले ‘गृहिणी महिलासंग प्रदेश सरकार’ कार्यक्रम ल्याएको र यसमा बजेट विनियोजन पनि भैसकेको जानकारी दिईन । यस्तै अर्की सांसद माइली तामाङले महिलाहरुको हक हित र अधिकारको लागी आफू लडिरहेको र महिलाहरुले पनि अधिकारको उचित उपयोग गर्नुपर्ने बताइन ।
गाउँपालिका अध्यक्ष राजु लामाले सबै क्षेत्रमा रातारात विकास नहुने कुरा बुझिदिन आग्रह गरे । स्थानीयबाट प्राप्त प्रश्नहरुको उत्तर दिदैँ उनले स्थानीय सरकारको मातहतमा रहेका विकास निर्माणका कार्यहरु गाउँपालिकाले बिस्तारै अघि बढाइरहेको जानकारी दिए । शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायतले निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने भएकाले जनताको सामुदायिक विद्यालयप्रति विश्वास नभएको उनको भनाई थियो । उनले आफूले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाएको जानकारी गराउँदै सबैलाई आफ्ना बालबालिका सरकारी विद्यालयमा पढाउन अनुरोध गरे । गाउँपालिका उपाध्यक्ष मिठु देवी लामाले लिसंखुपाखरमा गुणस्तरीय शिक्षा, कृषिको आधुनिकिकरण र भौतिक पुर्वाधार विकासको अवस्थालाई मध्यनजर काम गरिरहेको बताइन् ।
कार्यक्रममा उपस्थित स्थानीयले विविध विषयमा जनप्रतिनिधिहरुलाई जिज्ञासा राखेका थिए भने जनप्रतिनिधिले जवाफ दिएका थिए । लिसंखु पाखर गाउँपालिका पहिलो चौमासिक खर्च विवरण सार्वजनिक सुनुवाई गर्ने पहिलो पालिका बनेको छ ।

प्रतिक्रिया