प्रतिनिधि सभा सदस्यका रुपमा एक बर्ष

निर्वाचित भएको एक बर्ष पूरा भएको अवसरमा म सबै मतदाताप्रति आभार व्यक्त गर्दछु, सम्मान गर्न चाहन्छु ।

पहिलो उमेद्‍वारीमै विजय

सिन्धुपाल्चोक-१ का मतदाताले अमूल्य मत दिएर आफ्नो प्रतिनिधिका रुपमा संघीय संसद, प्रतिनिधि सभामा पठाएको एक बर्ष पूरा भएको छ । २०७९ मंसिर ४ को चुनाव उमेदरवारका रुपमा मेरा लागि पहिलो थियो । पार्टीले जिम्मेवारी दिएपछि उमेरले ४० टेक्दै गर्दा चुनावी प्रतिस्पर्धामा होमिएँ । सिंगो पार्टी, गठबन्धन, अग्रज र युवाको दरिलो साथ थियो । त्यसैले विजयी हुन्छु भन्नेमा म ढुक्क थिएँ । हाम्रो सिंगो टिमले निकै मेहनतका साथ सिन्धुपाल्चोक-१ का हरेक घर आँगनमा पुगेर मत मागेको थियो । निर्वाचनमा सिन्धुपाल्चोकले गठबन्धनमा भएको सहमतिलाई जस्ताको तस्तै कार्यान्वयन गर्यो । यसका लागि पार्टी पंक्ति, युवा पुस्तादेखि मतदातासम्मको निकै ठूलो मेहनत परेको थियो । पार्टीभन्दा माथि उठेर ठूलो पंक्तिले मलाई विश्वास पनि गर्यो । निर्वाचित भएको एक बर्ष पूरा भएको अवसरमा म सबै मतदाताप्रति आभार व्यक्त गर्दछु, सम्मान गर्न चाहन्छु ।

पार्टिको मूल नेतृत्वले गरेको विश्वास, अग्रज अग्नि सापकोटाले राजनीतिमा पुस्तान्तणलाई दिनु भएको महत्व एवं गर्नुभएको त्यागका कारण संसदीय अभ्यासमा हामी युवाले अवसर पाएका छौं । यसबाट राजनीतिमा नयाँ संस्कारको विकास भएको छ । युवा पुस्ताका लागि आधार तय भएको छ । युवाका लागि संभावनाका ढोका खुलेका छन् ।

निर्वाचनको एक महिनाअघि गठबन्धनका तर्फबाट पाँच बर्षका लागि निर्वाचन क्षेत्र केन्द्रित साझा प्रतिबद्धता जारी गर्यौं र तिनै विषय लिएर मतदातासामु पुग्यौं । २०७९ मंसिर ४ मा सहज रुपमा निर्वाचन सम्पन्न भयो । मंसिर ७ गते राति २ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मत परिणाम सार्वजनिक गर्यो । कूल ३,३५६ मतान्तरले आफू विजय भएको घोषणा भएपछि असोज २३ गते उमेद्‍वारी दर्तादेखिको थकान सबै मेटिएको अनुभूति भयो । पहिलोपटक नै जनताको अपार माया पाएर निर्वाचित हुँदाको गौरवपूर्ण अनुभव अवर्णनीय रह्यो । सँगसँगै जिम्मेवारीबोधको गहिरो अनुभूति पनि हुन थाल्यो । मंसिर ११ गते निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरियो ।

प्रतिनिधि सभामा प्रवेश

प्रतिनिधि सभा सदस्यका रुपमा २०७९ पुस ७ गते सपथ ग्रहण गरियो । बितेको एक बर्षमा प्रतिनिधि सभामा दुई अधिवेशन भए । कूल ९३ वटा बैठक चल्यो, ८१ वटामा उपस्थित भएँ । शून्य, आकस्मिक, विशेष, सैद्धान्तिक छलफल, राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल  र प्रश्नोत्तरसहित विविध विषयमा ३१ वटा सम्बोधन गरें । पूर्वाधार विकास समिति सदस्यका रुपमा कूल १५ बैठक मध्ये ९ बैठकमा सक्रिय सहभागी भएँ । समितिले निर्वाह गर्नुपर्ने भूमिका, आएका विषयबस्तुमा गम्भीरतापूर्वक धारणा व्यक्त गरें । सभा वा समितिका हरेक बैठकमा मतदातासामु गरिएको प्रतिबद्धतापत्र बोकेरै गएँ । नागरिक र सरकार बिच पुलको काम गर्ने अधिक प्रयास गरें ।

निर्वाचन क्षेत्रका साथै आम नागरिकका आवाज संसदमा निर्भिकतापूर्वक राख्ने प्रयास गरिरहें । दुबै अधिवेशनमा आफ्नै दल नेतृत्वको सरकारले ल्याएका विधेयकमा संशोधन दर्ता गराएँ । स्रोत नखुलेको सम्पत्ति सिधै राष्ट्रियकरण गर्नुपर्ने तर्कसहित सम्पत्ति शुद्धीकरण विधेयक, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक, विद्यालय शिक्षा विधेयक र विद्युत विधेयकमा संशोधन दर्ता गराएको छु । पहिलोपटक रोष्ट्रममा उभिएकै दिन पार्टीका तर्फबाट सभामुखका उम्मेद्वार माननीय देवराज घिमिरेलाई समर्थन गर्ने मौका मिल्यो । यो अवसरलाई पनि जनतासँग गरेको प्रतिबद्धता राख्न सदुपयोग गरें । निर्वाचन क्षेत्रमा पर्ने देशकै प्रमुख तातोपानी नाका पूर्ववत सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएँ ।

संसदमा राष्ट्रिय मुद्धालाई प्राथमिकताका साथ उजागर गर्ने प्रयास गरिरहें । युवा बेरोजगारी, रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता, नेपाल वृद्धबुद्धाको मात्र देश बन्ने खतरालाई तथ्यांकसहित संसदमा उठाएर युवाको विषयलाई पहिलो प्राथमिकतामा राखें । युवाका समस्या र चासोलाई संकल्प प्रस्तावका रुपमा दर्ता गरौं भनेर युवा सांसदहरुलाई आह्वान गरें । प्रतिनिधि सभाको नियमावलीमा अलिखित तर अभ्यासमा रहेको ‘ढ्यापढ्यापे समय’ को सट्टा नियमावलीमै उल्लेख गरेर ‘आकस्मिक समय’ राखौं भनेर संशोधन प्रस्ताव दर्ता गराएँ । नयाँ नियमावलीमा मैले गरेको प्रस्ताव अनुसारको व्यवस्था रहेको छ । अहिले संसदमा ‘ढ्यापढ्यापे’ होइन ‘आकस्मिक समय’ चल्तीमा छ ।

देशको बजेट कार्यान्वयनमा हरेक बर्ष दोहोरिने एकै खाले समस्या, अन्तिम चौमासिकमा पर्ने चापका सन्दर्भमा क्यालेण्डर बनाएर बजेट कार्यान्वयन गर्न विशेष आग्रह गर्दै ध्यानाकर्षण गराएँ । संसद सञ्चालनमा सूचना प्रविधिको प्रयोग गरौं भनेर आग्रह गर्दै यस कार्यका लागि एक महिनाको तलब सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छु । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक समयमै पारित गरेर संक्रमणकालीन न्यायका विषयमा नेपालबाट सन्देश दिन सकिने विषय प्रस्तुत गरें । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ०८० कार्तिक १३ गते संसदमा गर्नु भएको संबोधनमा नेपालले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन गरेको मौलिक अभ्यास र सन्देश बारे चर्चा गर्नु भयो । ‘टिआरसी विल’ समयमै पारित गर्न सकेको भए विश्वभर अझ राम्रो सन्देश जाने थियो ।

भ्रष्टाचारका विषयमा शून्य सहनशीलताका साथ सरकारले काम गरिरहेको बेला भुटानी शरणार्थीको मुद्धालाई स्वार्थमा जोडेर राजनीति नगर्न संसदमा आग्रह गरें । देशका संबैधानिक अंग र निकाय ‘रिटायर्डहरुका क्लब’जस्ता भएको विषयमा गम्भीर बन्न सिंगो राज्यको ध्यानाकर्षण गराएँ । नेपालले बहुप्रकोपको सामना गरिरहनु परेको सन्दर्भमा सबैखाले विपद् जोखिमको पूर्व तयारीका लागि समयमै सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएँ ।

उठाइएका विषयको सम्बोधन

नागरिकसँग गरेका प्रतिबद्धताअनुसार संसदमा उठान गरेपछि केही सकरात्मक परिणाम पनि देखिएका छन् । ०७२ को भूकम्पपछि बन्द जस्तै रहेको तातोपानी नाका पूर्ववत सुचारुको विषय मैले प्रमुखता साथ उठाएको थिएँ । सरोकारवालाहरुलाई नेतृत्व गर्दै प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका पनि थियौं । अन्ततः २०८० भदौ १५ देखि यो नाका पूर्ववत सुचारु भएको छ । म आफैं नाकामा पुगेर स्थानीयसँग खुसी साटें । जनताले स्याबासी दिनुभएको छ । लिपिङ क्षेत्रको बजारीकरण र नाकासम्म पुग्ने सडक स्तरोन्नतिको काम पनि गरिछाड्ने संकल्प लिएको छु ।

२०७१ साउन १७ गते जुरे पहिरोले ठूलो जनधनको क्षति गराएको थियो । जुरे पहिरो प्रभावितका लागि जनस्तरबाट संकलन भएर एकद्वार प्रणालीमार्फत् वितरण गर्ने उद्देश्यले सरकारी खातामा जम्मा भएको रकम प्रभावितले पाउन सकेका थिएनन् । लामो प्रयासपछि पनि काम नहुँदा पीडितहरु निरास थिए । मैले निर्वाचनका बेला यो काम गरिछोड्ने प्रतिबद्धता व्यक्त गरेको थिएँ । अन्ततः संसदमा उठाइएको आवाज र आग्रहलाई सरकारले सम्बोधन गर्यो । नौ बर्षपछि जुरे पहिरो प्रभावितको रकम निकासा भयो । प्रभावितहरुलाई नगदै वितरण गरियो । प्रतिनिध भएर जनताको काम गर्न पाएकोमा गर्वानुभूति भएको छ ।

लामो समयदेखि बन्द रहेको लामोसाँघुस्थित ओरेन्ट म्याग्नेसाइटको पुनः सञ्चालन वा अन्य व्यवस्थापनको विषय उठान गरेको थिएँ । यसबारे विभिन्न विकल्पमा छलफल जारी छ । निकास निस्कनेमा विश्वस्त छु । गाउँगाउँमा पुग्दा जनताले बाँदर, बँदेल, दुम्सीलगायतका जंगली जनावरले दु:ख दिएकोले बालीनाली जोगाउन सहयोग मागेका छन् । यो विषय जस्ताको तस्तै संसदमा राखेर सरकारको ध्यानाकर्षण गराएको छु । काठमाडौं पूर्वका १३ जिल्लाका लागि काठमाडौंको जडिबुटीमा बनेको बसपार्क प्रयोगको विषय, मेलम्ची बाढी प्रभावितका लागि समयमै सम्बोधन गर्ने विषय पनि संसदमा उठाएको छु ।

समन्वयकारी भूमिका

निर्वाचन क्षेत्र अन्तर्गतका स्थानीय तहबीच आपसी समझदारीमा समन्वयकारी संयन्त्रमार्फत काम गर्न प्रोत्साहनको सुरुवात भएको छ । विपद् व्यवस्थापनको विषयलाई प्राथमिकतामा राखेर पहिलो बर्ष कार्यक्रम गरी बजेट व्यवस्थापनमा सहजीकरणको नेतृत्व गरें । हरेक बर्ष फरक फरक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने गरी अघि बढिएको छ । जुगल गाउँपालिकामा रहेको श्री रत्नराज्य माध्यमिक विद्यालय, चनौटेमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विद्यालय हस्तान्तरण गरियो । विद्यालयलाई आवासीय हुँदै केन्द्रीय विद्यालय बनाउने कार्य अघि बढाइएको छ । निर्वाचन क्षेत्रको शैक्षिक केन्द्र बन्नेगरी काम भइरहेको छ । सिन्धुपाल्चोककै सबैभन्दा विकट मानिएको जुगलको गुम्बामा विद्युतीकरण र मोटरबाटोका लागि नेतृत्वदायी भूमिका रह्यो ।

प्रतिबद्धता अनुरुपका कार्यहरु पूरा गर्न संघ, प्रदेश, स्थानीय तहसँग समन्वय गरियो । रणनैतिक महत्वकादेखि निर्वाचन क्षेत्रभित्रका अन्य सडकहरुको स्तरोन्नति जारी छ । आवश्यकता र मागका आधारमा निर्वाचन क्षेत्रका सबै सडकको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार गर्ने काम भइरहेको छ । जुगल गाउँपालिकामा जडिबुटी प्रशोधन केन्द्र स्थापनाको काम अगाडि बढाइएको छ । जुगल हिमश्रृङखला अन्तर्गतका थप चुचुरा आरोहणका लागि खुला गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न पाउँदा खुसी लागेको छ । पर्यटकको संख्यामा वृद्धि भएको छ । काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमालप्रति देश विदेशमा बढेको आकर्षणले खुसी बनाएको छ । अरनिको राजमार्गमा पर्ने चर्चित पर्यटकीय क्षेत्र सुकुटेलाई अझ व्यवस्थित बनाउन चौतारा साँगाचोकगढी नगरपालिकासँगको समन्वयमा कार्य अघि बढेको छ । सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने दिवंगत शम्भु तामाङको सम्झनामा लिसंखुपाखरमा पार्क निर्माण कार्यको थालनी भएको छ ।

जनतासँग सांसद कार्यक्रम

संसद सदस्य निर्वाचित भएपछि जनताले आफ्नो प्रतिनिधिलाई घर आँगनमा देख्न चाहन्छ । अरु बेला हराउने र चुनावमा मात्रै देखिने भनेर आलोचना पनि हुने गरेको सन्दर्भमा निर्वाचन क्षेत्रमा जनतासँग सांसद कार्यक्रम नै राखेर अघि बढ्ने जमर्को गरेको छु । एक बर्षमा निर्वाचन क्षेत्रमा पर्ने सबै ५४ वटै वडामा कुनै न कुनै कार्यक्रममार्फत् पुगिसकेको छु । अर्को बर्ष टोलहरुसम्म पुग्ने गरी यो कार्यक्रम कार्यान्वयमा रहने छ । सहिद परिवार, मृतक परिवार, वेपत्ता तथा अपांगता भएका परिवार भेटघाट एवं सान्त्वना दिन पुगेको छु । विद्यालयहरुको बार्षिकोत्सव, निर्वाचन क्षेत्रमा निर्माण भएका विद्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी, खानेपानी, झोलुंगे पुललगायतका पूर्वाधार/संरचनाको शिलान्यास, उद्घाटनमा जनताले आफ्नो प्रतिनिधिलाई सँगै पाएका छन् । सहकारी, डेरी, वन समूह, महिला समूह, युवा समूहका कार्यक्रममा निर्वाचन क्षेत्रमा पुगेको हुन्छु । सडक, पुललगायतका भौतिक संरचना, आयोजनाहरुको नियमित अनुगमन गरिएको छ । अधिकांश आयोजनाको कार्यप्रगति सन्तोषजनक देखिन्छ ।

एउटा राजनीतिक कार्यकर्ताका रुपमा पार्टी केन्द्रीय समितिको बैठक, प्रदेशका बैठक, समन्वय समितिका बैठक, पालिका र वडाका बैठक, मोर्चा संगठनका भेला बैठकमा उपस्थित भई जिम्मेवारी निर्वाह गरेको छु । पार्टीले ०८० भदौ १६ गतेदेखि सुरु गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गतको जिम्मेवारी निर्वाह गरिरहेको छु । काठमाडौंको चन्द्रागिरीका अतिरिक्त गृह जिल्लासँग पनि उत्तिकै जोडिएको छु । गठबन्धन दलका साझा प्रतिवद्धता कार्यान्वयन गर्न पार्टीको तर्फबाट भूमिका निर्वाह गरिरहेको छु ।

अन्तर्राष्ट्रिय फोरममा सहभागिता

पहिलो बर्ष संसद सदस्यका रुपमा केही अन्तर्राष्ट्रिय फोरममा सहभागी अवसर जुट्यो । संयुक्त राज्य अमेरिकामा ‘हाई लेभल पोलिटिकल फोरम’को बैठक र दिगो विकास लक्ष्य सम्बन्धी संयुक्त राष्ट्रसंघको सम्मेलनमा सहभागी भएर नेपाली संसदीय प्रतिनिधि मण्डलको तर्फबाट सम्बोधन गर्ने मौका मिल्यो । बंगलादेशको ढाकामा ‘क्लाइमेट पार्लीयामेन्ट’ले आयोजना गरेको ‘टुवार्डस अ रेजिलियन्स साउथ एसिया रिजनल क्लाइमेट समिट २०२३’ मा सहभागी भएर नेपाली प्रतिनिधि मण्डलको तर्फबाट सम्बोधन गरें । भारतको संसदीय अनुभव भ्रमण तथा अनुभव आदानप्रदान एवं लोकसभा र राज्य सभाको अवलोकन भ्रमण एवं ‘दि इनर्जी ट्रान्जिसन २०२३’ सम्मेलनमा सहभागी भई सम्बोधन गरें । यसबाट विभिन्न देशको अभ्यासबारे जानकारी प्राप्त गर्ने र आफ्ना कुरा राख्ने अवसर प्राप्त भयो ।

चुनौती पनि छन्

यस अवधिमा सांसद आफैंले मुद्दा स्थापित गर्नुपर्ने, आफैंले प्राथमिकताका साथ सरकार र सम्बन्धित निकायमा धाउनै पर्ने अवस्थाको अनुभूति भएको छ । हामीले स्थापित गर्दै गरेको प्रणालीले पूर्ण रुपमा स्थापित नभइसकेकोले पनि व्यक्ति आफैं धाउनु पर्ने वास्तविकताबारे ज्ञान भयो । संसदको मूल काम कानून बनाउने हो । अवसादको कुरा, यो एक बर्षमा कानून निर्माणमा खासै उपलब्धि हुन सकेन । २ सय ७५ मध्ये एक सदस्यको नाताले म आफ्नो भागको जिम्मेवारी लिन्छु । सबैले यो विषयलाई मनन गरौं । हाम्रो संसदलाई समयानुकूल अद्यावधिक गर्ने, प्रविधिको प्रयोग गरी स्मार्ट बनाउनेतर्फ लाग्नु पर्ने आवश्यकता पनि बोध भएको छ ।

प्रतिक्रिया