देशका हरेक वडा केन्द्रमा इन्टरनेट पुर्याउने योजना प्राथमिकतामा: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै वडा कार्यालयसम्म इन्टरनेट पुर्याउने योजनालाई प्राथमिकतामा राखेको बताएकी छिन।

१६ मङ्सिर, सल्यान। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै वडा कार्यालयसम्म इन्टरनेट पुर्याउने योजनालाई प्राथमिकतामा राखेको बताएकी छिन। नेकपा माओवादी केन्द्र बागचौर नगर समितिले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने सरकारको महत्त्वपूर्ण निकाय वडा भएकाले वडाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै वडा केन्द्रमा इन्टरनेट विस्तारलाई प्राथमिकतामा राखेको बताइन्।

भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउन थालिएको जानकारी दिँदै उनले यसले सल्यानसहितका छिमेकी जिल्लाको सेवामा समेत सुधार आउने बताइन्। सल्यान, दाङ, रुकुमलगायत जिल्लाका लागि जीवनरेखाको रुपमा रहेको राप्ती लोकमार्गको स्तरोन्नति र कालोपत्रे सरकारको प्राथमिकतामा रहेकाले चालु आर्थिक वर्षमा आवाश्यक बजेट विनियोजन गरिएको मन्त्री शर्माले जानकारी दिईन्। सङ्घीयताले जनताको घर नजिकमा सरकार पुर्याएको उल्लेख गर्दै उनले यसबाट जनताले शासन होइन सेवा अनुभूति गर्नुपर्ने बताईन् । त्यसका लागि तिनै तहका सरकारबिच समन्वय आवश्यक रहेको बताईन्। मन्त्री शर्माले सबै तहका सरकारबिच आवश्यक समन्वय नहुदा एउटै योजनामा धेरै बजेट पर्ने र कुनै योजनामा बजेट नपर्ने समस्या हल गर्ने तयारी भइरहेको बताईन्। संघबाट पाँच करोडभन्दा कम बजेट विनियोजन नगर्ने विषयमा छलफल चलिरहेको पनि उनले जानकारी दिईन ।
मन्त्री शर्माले स्थानीय आवश्यकताको आधारमा योजना बनाउने काम स्थानीय तहको भएकाले स्थानीय सरकारले जति राम्रो योजना बनाउँछ, त्यसका आधारमा सङ्घ तथा प्रदेशलाई  सहजीकरण गर्न सहज हुने बताईन् ।
कार्यक्रमको अध्यक्षता माओवादी केन्द्र बागचौर नगर समिति अध्यक्ष शोभाराम भण्डारीले गरेका थिए ।

प्रतिक्रिया