जलबिरे भ्याली क्याम्पसको उन्नयनका लागि अक्षयकोषमा १ लाख जम्मा गर्ने सांसद सापकोटाको घोषणा, फोटो फिचर

जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा 'सुबोध'ले स्थानीय जलबिरे भ्याली क्याम्पसको शैक्षिक र भौतिक उन्नयनका लागि अक्षयकोषमा १ लाख जम्मा गर्ने घोषणा गरेका छन् ।

७ पुस, सिन्धुपाल्चोक। जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले स्थानीय जलबिरे भ्याली क्याम्पसको शैक्षिक र भौतिक उन्नयनका लागि अक्षयकोषमा १ लाख जम्मा गर्ने घोषणा गरेका छन् । शनिबार जलबिरे भ्याली क्याम्पसको १३ औं वार्षिकोत्सब, अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोहमा प्रमुख अतिथितका रुपमा उपस्थित उनले सो घोषणा गरेका हुन् ।
सो क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष समेत रहेका सांसद सापकोटाले गाउँपालिका र नगरपालिकाहरुले पनि क्याम्पसको अक्षयकोषमा अलि ठूलो रकम राखिदिन आग्रह गरे । यसो गर्दा पालिकाको नाम आईरहने र उत्तरदायित्व समेत बहन हुने उनको भनाई थियो । अक्षयकोष निर्माण गर्दा क्याम्पसको आफ्नै आत्मनिर्भर स्रोत हुने उनले बताए ।
सांसद सापकोटाले कार्यक्रममा चुनाव जितेर गएदेखि आफ्नो चुनाव क्षेत्रमा १ वर्षभित्र सम्पादन गरेका कार्यहरुको स्मरण गरे । उनले ब्रम्हायणी करिडोरको लाइफलाईन मानिएको बलेफी जलबिरे,तेम्बाथान सडकको हालत खराब भैराखेको, त्यसमा ठेकेदारले समयमा काम नगरेको र गाली भने नेताहरुले खानुपरेकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले जलबिरेसम्मको सडक मर्मतलाई जति आवश्यक हुन्छ त्यति बजेट व्यवस्था गर्नेगरी अर्थमन्त्रालय, सडक विभागका महानिर्देशकसहित बैठक बसेर कार्यान्वयनको क्रममा लगेको र समयमै पूरा गर्न लागिपरेको बताए ।
जलबिरेदेखि माथीको सडक भने प्रदेश सरकारको कार्यक्षेत्र र मातहतमा रहनेगरी निर्माण कम्पनीले काम सम्पन्न गर्नुपर्नेमा ढिलाई भएको र छिट्टै निर्माण कम्पनीले काम सम्पन्न गर्ने प्रतिवबद्धता जाहेर गरेको सांसद सापकोटाले जानकारी दिए । सापकोटाले प्रतिनिधि क्षेत्रभरिका सबै विद्यालयहरुमा शैक्षिक गुणस्तर वृद्धि गर्नका निमित्त जुगल गाउँपालिकाको रत्नराज्य माध्यमिक विद्यालयलाई स्रोत विद्यालय र केन्द्र विद्यालयका रुपमा विकास गरेर सैद्धान्तिक रुपमा कार्यक्रम अघि बढाइएको बताए । स्वास्थ्य, कृषि र आयआर्जनको विषयमा बारम्बार कुटनीतिक क्षेत्रबाट पहलकदमी लिईरहेको उनको भनाई छ ।
क्याम्पसको बार्षिकोत्सवमा बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, क्याम्पस सञ्चालक समितिका अध्यक्ष चन्द्र सापकोटा, स्थानीय शिक्षाविद् गोकर्ण श्रेष्ठ, क्याम्पस परिवार, स्थानीय शैक्षिकसंस्थाका प्रमुख, क्याम्पस परिवार, भूतपूर्व विद्यार्थीका साथै स्थानीय अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया