बलेफीको सार्वजनिक सुनुवाइ : दुग्ध किसानको माग सम्बोधन गर्ने अध्यक्ष तामाङको प्रतिबद्धता

बलेफी गाउँपालिका अध्यक्ष गंगा तामाङले दुग्ध किसानको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२२ पुस, सिन्धुपाल्चोक । बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले दुग्ध किसानको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँपालिकाले शुक्रबार गरेको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा उनले गाई-भैंसीपालक किसानले भोगेको समस्याको समाधान खोजिरहेको बताए । बिन्जेलमा रहेको दुग्धउत्पादक सहकारी संस्थाको प्राङगणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले सिन्धुपाल्चोककै सबैभन्दा बढी दुध उत्पादन हुने स्थान बिन्जेलमा पशुपालक किसानलाई अनुदान दिने विषय पटक–पटक उठेपनि अपठ्यारो परिस्थितिका कारण पुरा गर्न नसकिएको स्विकार्दै कार्यपालिकाको बैठकले कार्यविधि पुरा गरिसकेको र कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी दिए । गाउँका उपभोक्ताका समस्या बुझ्न र बिन्जेलबाट केही सिक्न भनेर पालिकाले विन्जेलमा प्रथम चौमासिकको सार्वजनिक सुनुवाई गरिएको गाउँपालिका अध्यक्ष तामाङले बताए ।

प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय उपभोक्ताले राखेको गुनासो, जिज्ञासा, सुझाब तथा आलोचनालाई गाउँपालिका अध्यक्ष साथै उपाध्यक्ष सरु लामा तथा प्रमुख प्रशासकीय अधिकृत रेवन्त दाहाल लगायत सम्बन्धित शाखा प्रमुखहरुले जवाफ दिएका दिए । कार्यक्रममा उपाध्यक्ष लामाले पालिकाको कानुनी परामर्श शाखाबाट न्याय सम्पादनमा चुस्तदुरुस्त बनाईएको बताउँदै बालबालिका तथा जेष्ठ नागरिकको लागि कार्यक्रम ल्याईसकिएको तथा महिलाहरुको लागि उद्यमी सीप विकास तालिमको व्यवस्था गरिएको बताईन ।  प्रमुख प्रशासकीय अधिकृत दाहालले पालिका भित्रको सार्वजनिक जग्गा अधिक्रमण भएको सन्दर्भमा संघीय मन्त्रालयले सार्वजनिक जग्गाको विवरण पठाउन निर्देशन दिएपनि पालिकासंग कुनै तथ्याङक नभएकोले नापी तथा मालपोत कार्यालयमा समन्वय गरिएको जानकारी गराए । कार्यक्रममा पूर्व जनप्रतिनिधिहरु, विद्यालय, राजनैतिक दल, संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया